१६, कार्तिक २०८२
बाँके ।कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका नाममा भएका अपराधिक क्रियाकलापमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ।
शुक्रबार नेपालगञ्जस्थित नेकपा (एमाले) बाँके कार्यालयमा पार्टीका अगुवा कार्यकर्तासँगको छलफलका क्रममा मुख्यमन्त्री कँडेलले आन्दोलनको नाममा ब्यक्तिगत घर, सरकारी तथा सार्वजनिक संस्थाका भवनमा आगजनी, लुटपाट र तोडफोड गर्ने कार्यलाई कुनै हालतमा माफ गर्न नहुने बताउनुभयो।
उहाँले भन्नुभयो “ब्यक्तिगत वा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेलाई यो वा त्यो बहानामा कारवाही नगर्ने हो भने भोलिका दिनमा यस्ता घटना पुनः दोहोरिन सक्छन्।”
एमाले स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री कँडेलले देशको संविधान र सार्वभौमिकताको रक्षा अहिलेको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै पार्टीका सबै तहका कार्यकर्ता एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।मुख्यमन्त्रीले भन्नुभयो“राजनीतिक आन्दोलनको आडमा अपराध गर्नेहरूलाई उन्मुक्ति दिइयो भने कानुनको शासन कमजोर हुन्छ। अहिलेको आवश्यकता नै दण्डहीनताको अन्त्य र विधिको शासनलाई सबल बनाउने हो।”
त्यसैगरी, भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनपछि भएको क्षतिको छानबिनका लागि गठित आयोगलाई एमाले बाँकेले जिम्मेवार कदम चाल्न आग्रह गरेको छ।
आयोगका सदस्य विज्ञानराज शर्माले शुक्रबार क्षतिग्रस्त एमाले बाँके जिल्ला पार्टी कार्यालयको स्थलगत निरीक्षण गरेका थिए।
स्थलगत भ्रमणका क्रममा एमालेका स्थायी कमिटी सदस्य यमलाल कँडेल, केन्द्रीय सदस्य शान्ति ढकाल र सूर्य ढकाल, लेखा आयोगकी सदस्य विजया धिताल, जिल्ला अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीलगायत नेताहरूले दण्डहीनताको अन्त्यका लागि दोषीलाई कानुनी दायरामा ल्याउन आयोगसँग माग गरे।
आयोगका सदस्य शर्माले प्रमुख राजनीतिक दलका प्रतिनिधिबाट जिम्मेवार प्रस्तुति प्राप्त भएको भन्दै आयोगले निष्पक्ष ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपालगञ्जमा भएको छलफल र निरीक्षणले जेन्जी आन्दोलनका क्रममा भएका क्षतिको निस्पक्ष छानबिन र कारवाहीको अपेक्षा बढाएको सहभागीहरूले बताएका छन्।










