१६, कार्तिक २०८२
सुर्खेत।कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई ‘समस्याग्रस्त आयोजना’ बन्न दिन नहुने बताएका छन् । उनले पछिल्लो पटक गठन भएको सरकारले भेरी–बबईलाई समस्याग्रस्त आयोजनामा राख्ने तयारीको चर्चाबीच आयोजनास्थल पुगेर सम्बद्ध पक्षहरूसँग छलफल गरेका हुन् । कँडेलले आयोजनास्थल बबई पुगेर आयोजना प्रमुख, निर्माण व्यवसायीका प्रतिनिधिहरूसँग स्थलगत अवलोकनपछि छलफल गरेका थिए ।
मुख्यमन्त्री कँडेलले आयोजनाको प्रगतिका कारण चिन्ता हुनु स्वभाविक रहेको उल्लेख गर्दै संघीय सरकारले यसलाई समस्याग्रस्त हुन नदिन निर्णायक कदम चाल्नु ढिला गर्न नहुने बताए । छलफलमा मुख्यमन्त्री कँडेलले संघीय सरकारको कार्यक्षेत्र रहेपनि कर्णालीको चासो र चिन्ताको विषय भएको बताउँदै उनले राष्ट्रिय गौरवको आयोजना निर्माणको गतिलाई यही अवस्थामा छाडन नहुने बताए ।
‘थपिएको समयमा पनि ६० प्रतिशतको आसपासमा मात्र काम भएको रहेछ,’ उनले भने, ‘यही गतिले अर्को चार वर्षमा पनि सम्पन्न हुने छाँट देखिदैन ।’ उनले राष्ट्रिय गौरवको आयोजना भनिएपनि संघीय सरकारले खास अपनत्व ग्रहण गर्न नसकेको गुनसो गरे । छलफलमा आयोजना प्रमुख सुरेन्द्र पौडेलले आयोजनाको कार्य प्रगति अपेक्षा भन्दा कमजोर रहेकाले थपिएको समयमा काम सम्पन्न हुन नसक्ने बताए । उनले आयोजनाका सन्दर्भमा आफूहरूको अधिकार सीमित रहेकाले माथिललो निकायबाट यस सम्बन्धमा विशेष पहल हुनुपर्ने बताए । आर्थिक वर्ष २०७१/७२ बाट निर्माण प्रारम्भ गरिएको आयोजनाको समग्र प्रगति हालसम्म ५७ प्रतिशत पुगेको छ । पहिलो चरणमा भेरी नदीको पानी डाइभर्ट गर्न बनाइएको १२ किलोमिटर सुरुङ्गको ब्रेक थ्रुले चर्चा पाएको आयोजनाको दोस्रो चरणका काम भने निकै सुस्त गतिमा छन् ।
दोस्रो चरणमा अघि बढाइएको बाध र विद्युत गृहका सिभिल संरचना निर्माण गर्न दिइएको समावधि आगामी चैतमा समाप्त हुँदैछ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–११, चिप्लेमा अवस्थित यो आयोजनाले भेरी नदीको पानी १२.२ किलोमिटर लामो सुरुङमार्फत बर्दिया जिल्लाको बबई नदीमा स्थानान्तरण गर्ने लक्ष्य राखेको छ । यसबाट ४६ दशमलव ६ मेगावाट विद्युत् उत्पादनका साथै बाँके र बर्दियाको झण्डै ५१ हजार हेक्टर क्षेत्रफलमा बाहै्र महिना सिँचाइ सुविधा पुर्याउने लक्ष्य आयोजनाको छ ।










