संविधानको रक्षार्था उभिन आग्रह

  • नमस्ते कर्णाली

  • २६, कार्तिक २०८२
    सुर्खेत ।कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संविधानको रक्षार्थ जनप्रतिनिधिहरु अग्रभागमा उभिने बेला आएको बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख तथा उप्रमुखहरुको भेलामा मुख्यमन्त्री कँडेलले मुलुकको पछिल्लो राजनीतिक अवस्थाले संविधान नै मासिने खतरा बढेकाले यसको रक्षार्थ बचेका जनप्रतिनिधिहरु अग्रभागमा आउनुपर्ने धारणा राखेका हुन ।
    उनले  प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा स्थानीय र प्रदेश तहका जनप्रतिनिधिहरुले जनताको सेवासँगै संविधानको रक्षार्थ अगुवाई गर्नुपर्ने बताए । मुख्यमन्त्री कँडेलले अहिलेको सरकारलाई संविधानले नचिने पनि परिस्थिति र बाध्यात्मक रुपमा स्वीकार गर्नु परेको बताउँदै नागरिक स्तरबाट खबरदारी भए संविधान जोगिने दावी गरे ।
    उनले भने, ‘नागरिकस्तरबाट आन्दोलनभन्दा जनप्रर्दशनको माध्यमबाट जनता सडकमा आउँछन तब संविधान जोगिने सुनिश्चित मात्र होइन सरकारबाट संविधान मिच्ने काम रोकिन्छ ।’ भदौ २३ र २४  गते लगत्तै  राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरु अब कहिल्यै फर्कदैनन् भन्ने मनोवैज्ञानिक त्रास सिर्जना गरिएको बताउँदै उनले दुई महिनामै परिस्थिति फेरिएको दावी गरे ।
    मुख्यमन्त्री कँडेलले  जेन–जी आन्दोलनपछि संघीय सरकारले प्रदेश र स्थानीय तहलाई आफनो यूनिटको रुपमा व्याख्या गरेर पत्राचार गरेको विषयमा सातै प्रदेशका मुख्यमन्त्रीको आपत्तिपछि सच्चिएको बताए । जेन–जी आन्दोलपछि मुलुकको अवस्था पहिलेको जस्तो नरहेको दावी गर्दै कँडेलले भ्रष्टाचार नियन्त्रण र सुशासन कायमको मुद्दामा विमती नरहेको तर त्यसका नाममा भएको हिंसात्मक आन्दोलनलाई राजनीतिक आवरण दिन नसकिने बताए । उनले वास्तविक जेन–जीहरुले चाहेको भ्रष्टाचार नियन्त्रण र सुशासनको माग पुरा गर्न जनप्रतिनिधिहरुले आफूलाई अब्बल सावित गर्नुपर्ने बताए । दुई दिनसम्म चल्ल्ने भेलामा प्रदेशका नगर र गाउँपलिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजकहरुको उपस्थिति छ ।

  • २७ कार्तिक २०८२, बुधबार ०८:३२ प्रकाशित

  • Nabintech