१५, मंसिर २०८२
काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार सम्पन्न १९औँ खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्समाथि ५ विकेटको शानदार जित हाँसिल गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १५० रनको मध्यम लक्ष्य काठमाडौं गोर्खाजले १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । यो जितसँगै काठमाडौं गोर्खाजले प्रतियोगितामा आफ्नो चौथो जित दर्ता गरेको छ ।
लक्ष्य पछ्याउने क्रममा काठमाडौं गोर्खाजले आक्रामक सुरुवात गरेको थियो। ओपनर बेन चार्ल्सवर्थले २१ बलमा ३ छक्का र २ चौकासहित ३४ रन बनाएर टिमलाई राम्रो लयमा ल्याए । अर्का ओपनर आकाश त्रिपाठी ८ रन र मिलिन्द कुमार १५ रनमा आउट भए पनि मध्यक्रमका ब्याटरहरूले जिम्मेवारीपूर्ण प्रदर्शन गरे ।
विशेषगरी गेरहार्ड इरास्मस र जोन सिम्पसनबीचको साझेदारी जितका लागि निर्णायक बन्यो । विकेटकिपर ब्याटर जोन सिम्पसनले विष्फोटक ब्याटिङ गर्दै २१ बलमा ४१ रन जोडे । उनी आउट भएपछि क्रिजमा टिकिरहेका इरास्मसले टोलीलाई जितसम्म डोर्याए ।
इरास्मस ३३ बलमा ४३ रन बनाउँदै अविजित रहे। भीम सार्कीले २ बलमा ६ रन प्रहार गर्दै खेल जिताए । बलिङतर्फ कर्णाली याक्सका नन्दन यादवले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । पवन सर्राफले १ विकेट लिए भने कप्तान सोमपाल कामी ३ ओभरमा ३५ रन दिँदै विकेटविहीन रहे ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । कर्णालीको सुरुवात निकै खराब रह्यो । पहिलो ओभरमै टोलीले जम्मा १ रन जोड्दा २ महत्वपूर्ण विकेट गुमाएको थियो। प्रियांक पञ्चल ० र विलियम बोसिस्टो १ मा आउट भएका थिए ।
सुरुवाती दबाबका बाबजुद मार्क वाट र पवन सर्राफले इनिङ्स सम्हाले। वाटले ३० रन र सर्राफले ३५ रनको योगदान दिए । कर्णालीलाई सम्मानजनक स्कोरमा पुर्याउन गुल्सन झाले अन्तिम ओभरहरूमा आक्रामक ब्याटिङ गरे । सातौँ नम्बरमा आएका झाले २२ बलमा ६ चौका र ३ छक्कासहित अविजित ४९ रन बनाए । काठमाडौंका बलरहरूमा रासिद खानले २ तथा करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले १–१ विकेट लिए ।










