चार करोड पेस्की लिएर ४ वर्षदेखि कालोपत्रको काम अलपत्र

  • नमस्ते कर्णाली

  • १५, मंसिर २०८२

    कालीकोट।कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको मुख्य सडक कालोपत्रको काम अलपत्र अवस्थामा छ । कर्णाली प्रदेश सरकारको लगानीमा नगरपालिकाभित्रको शान्तीघाट–सिपखाना सडकअन्तर्गत शान्तीघाटदेखि बडिमालिकासम्मको १२ किलोमिटर सडक कालोपत्र गर्न २०७८ साल असार ३ गते ठेक्का सम्झौता भएको थियो ।

    ठेक्का सम्झौता भएको ४ वर्षसम्म निर्माण सम्पन्न नगरी सडक अलपत्र अवस्थामा छोडिएको छ । दुई पटक शिलान्यास भएको सडक निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेको स्थानीयको गुनासो छ ।

    अग्रिम भुक्तानी (पेस्की) बापत ४ करोड ४० लाख भुक्तानी लिएर काम अलपत्र छाडेको पूर्वाधार विकास कार्यालय कालीकोटले जनाएको छ । पूर्वाधार विकास कार्यालय कालीकोटका इन्जिनियर कृष्ण प्रसाद शर्माले ठेक्का सम्झौता भएको ७ महिनापछि काम सुरु गरेको र त्यस यता काम नगरेपछि कार्यालयले निर्माण कम्पनीलाई पटक पटक पत्राचार गरेर काम गर्न भने पनि अहिलेसम्म काम सुरु नगरी अलपत्र जस्तै रहेको जानकारी दिए ।

    निर्माण कम्पनी के.एस.शनिदेव जेभि.महेन्द्रनगरले सडक कालोपत्रका लागि २०७८ साल असार ३ गते पूर्वाधार विकास कार्यालय कालीकोटसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको ४ वर्षसम्म साइडमा ४५ प्रतिशत मात्र काम भएको र हाल कुनै पनि काम सुरु नगरेको पाइएको छ ।

    ३८ करोड ४९ लाख ५७ हजार ७७६ रुपैयाँ १६ पैसा लागत स्टिमेटबाट निर्माण कम्पनीले घटेर भ्याटसहित २५ करोड ५५ लाख ५१२ रुपैयाँ ४२ पैसा सम्झौता गरेको थियो। सडक कालोपत्रको काम अलपत्र परेपछि रास्कोटका नागरिक चिन्तित भएका छन् ।

    राम्रो सडकमा सहज यात्रा गर्न पाइने खुसी बिस्तारै हराउँदै गएको रास्कोट नगरपालिका–६ का देविन्द्र बमले बताए । उनले अहिले सडकमा धूलो मात्र उठ्ने गरेको र कालोपत्र सडकमा रास्कोटका नागरिकले गाडी गुडाउन नपाएको गुनासो पोखे । सडक कालोपत्र गर्नका लागि पहिला सडक चौडा बनाउनुपर्ने र ढल निकासका लागि नाला पनि बनाउनुपर्ने छ।

    रास्कोट नगरपालिकाका मेयर धर्मराज शाहीले निर्माण कम्पनीका मुख्य प्रतिनिधि देविदत्त भट्टालाई तत्काल काम सुरु गर्न फोनबाट निर्देशन दिएका छन् । उनले रास्कोटका जनताका लागि विकासमा बाधक बनेको बताउँदै साइडमा सबै इक्विपमेन्ट पठाएर छिटो काम सुरु गर्न सुझाव दिएका छन् ।

    निर्माण कम्पनी के.एस.शनिदेव जेभिका मुख्य प्रतिनिधि देविदत्त भट्टले आफूले हालसम्म काम सुरु नगर्नुमा ९९ प्रतिशत गल्ती भएको बताए । उनले भने, ‘देशको परिस्थिति, लकडाउन र रकम अभावले पटक पटक काम रोकिएको हो ।’ निर्माण कम्पनीले जसरी पनि काम सक्ने गरी काम सुरु गर्न भौतिक पूर्वाधार मन्त्रालयमा एक हप्ता पहिले सम्झौता गरेको उनले बताए । उनले पूर्वाधार विकास कार्यालय कालीकोटले पेस्की दाखिलाका लागि पत्र पठाएको गुनासो गरे ।

    उनले भने, ‘पहिला पेस्की लिएको रकम समेत सकिएकाले अहिले तत्काल काम गर्न समस्या भएको हो । अहिलेको अवस्थामा मोडल सपोर्टको आवश्यकता छ ।’ रास्कोट नगरपालिकाका मेयर धर्मराज शाहीले धेरै दबाब दिएको उनले गुनासो गरे ।

    अहिले चारैतिरबाट दबाब आएको बेला कार्यालयले पेस्की दाखिलाका लागि चिठी पठाउँदा झन् समस्या थपिएको उनको भनाइ छ । अब १३ करोडको काम बाँकी रहेको र आफूले अरूलाई पेटी ठेक्का दिँदा घाटामा परेको भन्दै अब काम सुरु गरेर निर्धारित समयमा सक्ने बताए ।

    निर्माण कम्पनीले ४ करोड ४० लाख पेस्की लिएकामा हालसम्म ८० लाख पेस्की फछ्र्यौट गरेको र ३ करोड ६० लाख बाँकी रहेको रकम खातामा दाखिलाका लागि बैंक र मन्त्रालयमा पूर्वाधार विकास कार्यालय कालीकोटले चिठी पठाइएको छ । पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख प्रभाकर प्रसाद सिंहले पेस्की दाखिलाका लागि कार्यालयले आफ्नो प्रक्रिया अगाडि बढाएको बताए । उनले निर्माण कम्पनीले जसरी पनि काम गर्नुपर्ने धारणा राखे ।

  • १६ मंसिर २०८२, सोमबार ०७:५७ प्रकाशित

  • Nabintech