समयमै वर्षा नहुँदा बाँकेमा अझै २७ प्रतिशत खेत बाँझै, रोपाइँ सुस्त गतिमा

  • नमस्ते कर्णाली

  • ४, साउन २०८२
    बाँके ।धान उत्पादनको लागि उर्वर मानिने बाँके जिल्लामा साउनको पहिलो साता पार हुँदा पनि करिब २७ प्रतिशत खेतमा अझै रोपाइँ हुन सकेको छैन। समयमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ सुस्त गतिमा भइरहेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।

    कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक अधिकृत खडक बस्नेतका अनुसार हालसम्म जिल्लामा कुल ३६ हजार ५०० हेक्टरमध्ये ७३.५ प्रतिशत खेतमा मात्र रोपाइँ सम्पन्न भएको छ। “यदि गत साता निरन्तर वर्षा भएको भए हालसम्म रोपाइँ करिब सम्पन्न हुनेथियो, तर वर्षाको कमीले रोपाइँ सुस्त गतिमा भइरहेको छ,” उहाँले बताउनुभयो।

    हालसम्म भएको रोपाइँ मुख्यतः सिक्टा सिँचाइ आयोजनाको मूल नहर तथा शाखा नहर वरिपरिका क्षेत्रहरू, अन्य सिँचाइ सुविधा उपलब्ध ठाउँ र मोटर तथा बोरिङमार्फत पानी तानेर गरिएको हो।

    असार १५ सम्म मात्र ११ प्रतिशत रोपाइँ सम्पन्न भएको बाँकेमा त्यसपछिका केही दिनमा वर्षा भएपछि रोपाइँको गति केही बढे पनि अझै २७ प्रतिशत खेत बाँझै छन्।

    कृषि ज्ञान केन्द्रका अनुसार सिक्टा सिँचाइ आयोजनाको प्रभावका कारण राप्ती सोनारी, कोहलपुर र बैजनाथ क्षेत्रहरूमा रोपाइँ सबैभन्दा बढी भएको छ भने जानकी गाउँपालिकामा भने रोपाइँ सबैभन्दा कम भएको देखिएको छ।

    बाँकेका धेरैजसो क्षेत्रहरूमा अझै पनि आकाशे पानीकै भरमा खेती गर्नुपर्ने अवस्था रहेको र सिँचाइको भरपर्दो संरचना नहुनु मुख्य चुनौती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

    गत वर्षझैँ यस वर्ष पनि बाँकेका सम्पूर्ण ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य भए पनि असमान वर्षाका कारण किसानहरूमा चिन्ता बढ्दो छ।

    कृषि प्राविधिकहरूका अनुसार समयमै पर्याप्त वर्षा नभए आगामी दिनमा उत्पादनमा गिरावट आउने खतरा रहेको छ। स्थानीय तथा प्रदेश सरकारको सिँचाइ पूर्वाधार विस्तारमा ध्यान केन्द्रित गर्नुपर्ने माग पनि किसानहरूबाट उठ्न थालेको छ।

     

  • ५ श्रावण २०८२, आईतवार ०८:३३ प्रकाशित

  • Nabintech