कपिलवस्तुमा अनुदानको मलमा कालोबजारी, सहकारी सञ्चालक पक्राउ

  • नमस्ते कर्णाली

  • २९, साउन २०८२
    कपिलवस्तु । किसानका लागि आएको अनुदानको मल कालोबजारी गरी अन्यत्र बिक्री गरेको आरोपमा कपिलवस्तु प्रहरीले एक सहकारी सञ्चालकलाई पक्राउ गरेको छ ।
    मायादेवी गाउँपालिका–५, बलुहवाका किसानका लागि आएको अनुदानको मल व्यापारीलाई बेचेको अभियोगमा चेतना विकास सहकारी संस्था डुमराका सञ्चालक वशिष्ठ पाण्डेयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।

    एक महिनाअघि साल्ट ट्रेडिङ कर्पोरेसनबाट सहकारीले १९७ बोरा युरिया मल ल्याएको थियो । तर किसानले लामो समयसम्म मल नपाएपछि साउन ११ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।
    प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङको निर्देशनमा छानबिन अघि बढाउँदा पाण्डेयको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो । स्रोतका अनुसार, हराएको १९७ बोरा मल बहादुरगञ्जस्थित एक प्लाइबोर्ड कम्पनीलाई प्रतिबोरा ३ हजार रुपैयाँमा बिक्री गरिएको पाइएको छ । सरकारले किसानलाई प्रतिबोरा ९ सय रुपैयाँमा अनुदानको मल उपलब्ध गराउँदै आएको छ ।
    यस्तै, पाण्डेयले यसअघि पनि कृषि सामग्री कम्पनी लिमिटेड तौलिहवा र बहादुरगञ्जबाट किसानका लागि आएको मल दुरुपयोग गरेको आरोप लागेको छ ।
    प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ र मुद्दा दर्ता गर्ने तयारी छ ।

     

     

  • ३० श्रावण २०८२, बिहीबार ०७:३९ प्रकाशित

  • Nabintech