प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति फिर्ता लिन रास्वपा नेता उपाध्यायलाई पत्रकार महासंघ लुम्बनीको आग्रह

  • नमस्ते कर्णाली

  • २९, साउन २०८२
    भालुबाङ। नेपाल पत्रकार महाससंघ लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यममाथि दिएको अमर्यादित र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति तत्काल फिर्ता लिन जोडदार माग गरेको छ ।

    महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले विज्ञप्ती जारी गरेर रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवारको आकाङ्क्षी रहेका सिद्धार्थनगर–७ निवासी उपाध्यायले पत्रकारिता पेसा र सञ्चारमाध्यमलाई बदनाम गर्ने उद्देश्यले गैरजिम्मेवार टिप्पणी गरेको भन्दै गम्भीर आपत्ति जनाउनुभएको छ ।

    केही दिनअघि रास्वपाको केन्द्रीय कार्यालयमा आफ्नो धारणा राख्ने क्रममा उपाध्यायले स्थानीय र अन्य मिडियाको आवश्यकता नभएको, समाचार पढ्दा हाँसो उठ्ने र सम्पूर्ण पत्रकारहरू ५ हजार रुपैयाँमा बिक्री हुने जस्ता तथ्यहीन, अपमानजनक र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति दिएका थि ए। यस्ता टिप्पणीले पत्रकारिता पेसाको मर्यादा र सञ्चारमाध्यमको विश्वसनीयतामाथि गम्भीर आघात र्पुयाएको महासंघको ठहर छ ।

    महाससंघका महासचिव पाण्डवप्रसाद शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उपाध्यायको उक्त अभिव्यक्ति खेदजनक, आधारहीन र लज्जास्पद भएको उल्लेख गर्दै तत्काल फिर्ता लिई सार्वजनिक माफी माग्न माग गरिएको छ । साथै यस्तो गैरजिम्मेवार व्यवहार प्रदर्शन गर्ने उपाध्यायमाथि छानबिन गरी कडा कारबाही गर्न रास्वपालाई आग्रह गरिएको छ । ‘यस्ता अभिव्यक्तिहरूले लोकतान्त्रिक मूल्य–मान्यता, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आघात पुर्‍याउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

  • ३० श्रावण २०८२, बिहीबार ०७:४९ प्रकाशित

  • Nabintech