बाँकेमा कर्णालीको स्याउ छ्यापछ्याप्ती

  • नमस्ते कर्णाली

  • बाँकेमा कर्णालीको स्याउ छ्यापछ्याप्ती

    ६, भदौ २०८२
    बाँके ।चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्ज र कोहलपुरमा अहिले कर्णालीका स्याउ बजारभर छन् । कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादित अर्गानिक स्याउ स्थानीय बजारमा आउन थालेपछि भारत र चीनबाट आयात गरिने स्याउ हाल बजारबाट हराउन थालेका छन् ।
    केही दिनपहिलेसम्म भारत र चीनबाट आयात गरिएको स्याउले ओगेटेको बाँकेको नेपालगन्ज र कोहलपुर बजारमा अहिले जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको छ ।
    स्थानीय फलफूल व्यवसायी रमजान कबडियाले भारतबाट भित्रिएका महँगो स्याउको ठाउँमा सस्तो र गुणस्तरीय नेपालकै स्याउ बजारमा आएपछि अहिले चारैतिर सोही स्याउ बिक्री भइरहेको बताउनुभयो । उहाँले भारतीय स्याउ प्रतिकिलो २५० रुपियाँमा बिक्री भइरहेका बेला कर्णालीको स्याउ किलोको १५० रुपियाँको आसपासमा पाइन थालेपछि भारतीय स्याउको बिक्री बन्द भएको बताउनुभयो ।
    कर्णालीका जुम्ला र कालीकोटबाट ठुलो परिमाणमा स्याउ कोहलपुरमा ल्याएर बिक्री सुरु गरिएकाले भारत र चीनबाट ल्याइने स्याउको बिक्री बन्द भएको स्याउका कोहलपुरस्थित थोक विक्रेता केपी अधिकारीले बताउनुभयो । उहाँका अनुसार अहिले कोहलपुर, नेपालगन्ज र खजुरामा जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको छ । भारतीय स्याउ महँगो र त्यति स्वादिलो नभएकाले कर्णालीको स्याउको माग अत्यधिक रहेको अधिकारीको भनाइ छ ।

    उहाँका अनुसार बाँकेको कोहलपुरस्थित कृषि उपज केन्द्रमा दैनिक करिब तीनदेखि पाँच टनसम्म कर्णालीको स्याउ बिक्री भइरहेको छ ।
    यसै गरी नेपालगन्जस्थित फलफूलका अर्का थोक विक्रेता शमशेर मियाँले अहिले बजारमा जताततै कर्णालीकै स्याउको माग उच्च रहेकाले अरू स्याउ ल्याउन छाडेको बताउनुभयो । उहाँले नेपालगन्जको फलफूल थोक बजारमा अहिले दैनिक पाँच टनभन्दा बढी स्याउ बिक्री हुने गरेको बताउँदै सीमापारि भारतमा समेत कर्णालीको स्याउ जान थालेको बताउनुभयो।
    यस क्षेत्रमा कर्णालीको स्याउको माग बढ्दै गएपछि कोहलपुरस्थित भेरी शीतभण्डार सहकारी संस्थामा ठुलो परिमाणमा स्याउ भण्डार भइरहेको र आउने क्रम अझै जारी रहेको भेरी शीतभण्डारले जनाएको छ ।

     

  • ६ भाद्र २०८२, शुक्रबार १९:०२ प्रकाशित

  • Nabintech