७, भदौ २०८२
बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलअन्तर्गत सम्पर्क कार्यालय नेपालगञ्जले आर्थिक वर्ष २०८१/८२ मा प्राप्त भएका उजुरीमध्ये ८७.२६ प्रतिशत उजुरी फर्छ्यौट गरेको छ । कार्यालयले कुल ९०३ उजुरीमध्ये ७८८ उजुरी फर्छ्यौट गरेको जनाएको छ ।
नेपालगञ्जमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख शम्भु प्रसाद रेग्मीले प्रस्तुत गरेका तथ्याङ्कअनुसार ११५ उजुरी जिम्मेवारी सरेका रहेका छन् । उहाँका अनुसार देशभरका अन्य सात सम्पर्क कार्यालयमध्ये नेपालगञ्ज कार्यालयले सबैभन्दा बढी उजुरी फर्छ्यौट गर्न सफल भएको हो ।
चार जिल्ला— बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको कार्यालयमा गत वर्ष दाङका ३५६, बाँकेको ३११, बर्दियाका १४४ र रोल्पाका ९२ उजुरी दर्ता भएका थिए । तीमध्ये बाँके जिल्लामा मात्र सबैभन्दा बढी उजुरी परेका थिए, जसमा कोहलपुर नगरपालिकाको ३४ उजुरी, नेपालगञ्ज उपमहानगरपालिकाको २९, डुडुवा गाउँपालिकाको २८ र नरैनापुर गाउँपालिकाको २३ उजुरी रहेका छन् ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै सार्वजनिक पदमा बसेका व्यक्तिहरूको नियत सफा र आचरण शुद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले सुशासनलाई मूल मन्त्र मानेर कार्य सम्पादन गरे मात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुने बताउनुभयो ।
अख्तियार नेपालगञ्ज कार्यालय प्रमुख रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, विभिन्न सरकारी निकायका प्रमुख, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, गैरसरकारी संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।