बर्दियामा ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट सशस्त्र प्रहरीद्वारा पक्राउ

  • नमस्ते कर्णाली

  • बर्दिया,१० भदौ।
    नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ४८ लाख रुपैयाँ बराबरको अवैध चिनियाँ विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) नियन्त्रणमा लिएको छ।

    विशेष सुराकीका आधारमा मधुवन नगरपालिका–५, गाउँ नं. १० को फुलाराम चोकमा गस्ती टोली खटाइएको थियो। सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको कमाण्डमा खटिएको टोलीले भारततर्फ चोरी निकासी गर्दै ल्याइएका दुईवटा साइकलमा राखिएका १,९२० थान स्पेशम्यान एसपी चालिस हजार नामक विद्युतीय चुरोट फेला पारेको हो।

    सशस्त्र प्रहरी ३१ नं गणका प्रहरी उपरीक्षक मानबहादुर शाहीका अनुसार पक्राउ गरिएको चुरोटको बजार मूल्य ४८ लाख पाँच हजार रुपैयाँ बराबर छ। टोली देख्नासाथ संलग्न दुई जना सामान र साइकल छाडेर भारततर्फ फरार भएका थिए।

    पक्राउ गरिएको सामान आवश्यक प्रक्रिया पूरा गरी राजापुर भन्सार कार्यालय, गुलरियामा बुझाइएको प्रहरीले जनाएको छ। खुला सिमानाका कारण नेपाल–भारत सीमामा अवैध सामान ओसारपसार हुने घटना दोहोरिँदै आएको जनाइएको छ।

     

  • १० भाद्र २०८२, मंगलवार १०:०७ प्रकाशित

  • Nabintech