१४, भदौ २०८२
बाँके । स्वास्थ्यप्रतिको जनचेतना अभिवृद्धि र नागरिकलाई शारीरिक तन्दुरुस्त बनाउन कोहलपुर नगरपालिकाले ‘एक वडा, एक खुला व्यायामशाला’ अभियान सुरु गरेको छ।
यस अभियानअन्तर्गत वडा नम्बर २ मा पहिलोपटक खुला व्यायामशाला उद्घाटन गरिएको छ। व्यायामशालामा ट्रेडमिल, पुस-अप स्टेशन, साइकलिङ, घोडा तालिम मेसिनलगायतका उपकरण राखिएका छन्।
वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायतका अनुसार यस पहलले वडावासीलाई स्वस्थ रहन र सन्तुलित आहारविहार अपनाउन प्रेरित गर्नेछ। “सार्वजनिक स्थानमै व्यायाम गर्ने अवसर पाएपछि नागरिकमा सकारात्मक स्वास्थ्य अभ्यास बढ्ने अपेक्षा गरिएको छ,” उनले बताए।
पछिल्लो समय व्यस्त जीवनशैली, अस्वस्थ खानपान र शारीरिक गतिविधि कमीका कारण मधुमेह, युरिक एसिडजस्ता नसर्ने रोग बढ्दै गएका छन्। यस्तै समस्याबाट जोगिन व्यायाम अत्यावश्यक भएको भन्दै स्थानीय युवा विष्णु विश्वकर्माले खुला व्यायामशालाले समुदायलाई व्यायामप्रति आकर्षित गरिरहेको बताए।
नगरपालिकाले ल्याएको यो अवधारणाले नियमित व्यायाम गर्ने वातावरण मात्र बनाइरहेको छैन, वातावरणीय स्वच्छता र समग्र समाजको तन्दुरुस्तीमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा लिइएको छ।
कोहलपुर नगरपालिकाले क्रमशः सबै वडामा खुला व्यायामशाला विस्तार गर्ने योजना अघि सारेको छ।