१५, भदौ २०८२
बाँके । । पश्चिम नेपालको प्रमुख व्यापारिक नाका नेपालगन्जबाट गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै करिब ६ अर्ब रुपियाँ बराबरको चामल आयात भएको छ। नेपालगन्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा पाँच अर्ब ९२ करोड २४ लाख रुपियाँ बराबरको ६ करोड ७६ लाख ८३ हजार किलो चामल भारतबाट आयात गरिएको हो।
कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार अघिल्लो वर्ष (२०८०/८१) मा चार अर्ब १२ करोड २६ लाख मूल्य बराबरको तीन करोड ३७ लाख ३४ हजार किलो चामल आयात भएको थियो। यसरी अघिल्लो वर्षको तुलनामा गत वर्ष ३०.३८ प्रतिशत अर्थात् एक अर्ब ७९ करोड ९७ लाख ६४ हजार बढी मूल्य बराबरको चामल आयात भएको छ।
प्रमुख पौडेलले चामल आयात वर्षेनी बढ्दै गएको उल्लेख गर्दै, “जबसम्म आफ्नै उत्पादन बढाइँदैन, तबसम्म आयातमा निर्भरता बढिरहन्छ,” भन्नुभयो।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टङ्क धामीले धान उत्पादनका लागि उत्कृष्ट मानिने बाँके र बर्दियाजस्ता जिल्लामा वर्षमा ६ अर्ब रुपियाँ बराबरको चामल आयात हुनु दुःखद भएको बताउनुभयो। उहाँले यसलाई स्थानीय अर्थतन्त्रका लागि गम्भीर संकेत भन्दै उत्पादन वृद्धिमा सम्बद्ध निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।
अन्य आयात पनि उच्च
नेपालगन्ज नाकाबाट गत वर्ष दुई अर्ब १९ करोड ४४ लाख मूल्य बराबरको पाँच करोड १० लाख किलो मकै आयात भएको छ। अघिल्लो वर्ष पनि करिब उस्तै परिमाणको मकै आयात भएको थियो।
त्यसैगरी, इन्धनतर्फ १३ अर्ब ८१ करोड ८५ लाख मूल्य बराबरको डिजेल आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५९ करोडले कम हो। पेट्रोल आयातमा भने चार अर्ब ८२ करोड ३७ लाख खर्चिएको छ।
खाना पकाउने एलपी ग्यास आयातमा वृद्धि भएको छ। गत आवमा पाँच अर्ब ४१ करोड ९० लाख मूल्य बराबरको चार करोड ९४ लाख किलो ग्यास आयात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा बढी हो।
स्थानीय उत्पादन क्षमता बढाउनुपर्ने आवाज चर्किँदै गएको छ भने, भन्सार तथ्यांकले खाद्यान्नदेखि इन्धनसम्म नेपाल अझै पनि भारतबाटै अत्यधिक निर्भर रहेको देखाएको छ।