नरैनापुरमा हुलाकी सडक सञ्चालनपछि जीवनशैलीमा परिवर्तन, सदरमुकामसँग सीधा सम्पर्क

  • नमस्ते कर्णाली

  • बाँके, १६ भदौ।

    बाँकेको दुर्गम मानिने राप्ती नदीपारिको नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि सुगम बन्दै गएको छ । करिब २३ वर्ष अघिदेखि चर्चा हुँदै आएको नेपालगन्ज–बघौडा सडक निर्माण सम्पन्न भएपछि नरैनापुर सदरमुकाम नेपालगन्जसँग सीधा सम्पर्कमा जोडिएको हो ।

    हुलाकी सडक सञ्चालनसँगै नरैनापुरबासीको दैनिकीमा ठूलो परिवर्तन आएको छ । विगतमा सदरमुकाम पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ भने शिक्षा, स्वास्थ्य, व्यापार–व्यवसाय र यातायातको सहज पहुँचले जीवनशैली नै बदलिएको छ । ग्रामीण बजार विस्तार हुन थालेका छन् भने भारतीय रुपैयाँको साटो नेपाली मुद्रा प्रचलन बढ्दै गएको छ ।

    स्थानीय महिला साकिरा पठान भन्छिन्, “सडक नहुँदा सानो कामका लागि पनि भारततिर धाउनुपर्ने बाध्यता थियो । अहिले नेपालगन्ज सजिलै पुग्न सकिन्छ, स्वास्थ्य उपचारदेखि किनमेलसम्म सबै सहज भएको छ ।”

    त्यसैगरी नरैनापुरबासी पुरुष मोहम्मद इयाज खाँ भन्छन्, “पहिले हामीलाई नेपालमै भए पनि नेपालभन्दा भारत नजिक भएको अनुभूति हुन्थ्यो । तर अहिले भने नेपालगन्जसँग सीधा सम्पर्क भएपछि साँच्चिकै नेपाली भएको अनुभूति भइरहेको छ ।”

    नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार हुलाकी सडक नरैनापुरबासीका लागि “लाइफलाइन” बनेको छ । उनका शब्दमा, “अब शिक्षा, स्वास्थ्य, बजार र बैंकिङ पहुँच सहज हुँदै गएको छ । यो सडकले नरैनापुरको स्वरूप बदलिदिएको छ ।”
    हुलाकी सडक सञ्चालनसँगै सदरमुकाम नेपालगन्जदेखि सीमावर्ती बघौडासम्म दैनिक यात्रुवाहक बस सञ्चालन हुने गरेका छन् । दुर्गम मानिएको नरैनापुर अब सुगमतर्फ अगाडि बढ्दै गएको छ ।

  • १६ भाद्र २०८२, सोमबार ०८:४९ प्रकाशित

  • Nabintech