१८, भदौ २०८२
बर्दिया।कैलालीको सीमाबाट बग्ने कर्णाली नदीले गेरुवा गाउँपालिका–२ बनघुस्रास्थित तटबन्ध बगाएपछि आधा दर्जन गाउँहरू बाढी जोखिममा परेका छन्। करिब पाँच वर्षअघि झन्डै तीन करोड लागतमा निर्माण भएको तटबन्ध र स्पर नदीले बगाएपछि करिब ३ सय मिटर लम्बाई र ३ मिटर चौडाइमा कटान भएको हो।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका प्रमुख सुदिन मुक्तानका अनुसार नदीले धार परिवर्तन गर्न थालेपछि बनघुस्रा, बनकट्टी, सनकट्टी, टिकुलीगढ, लोहारलगायतका बस्ती उच्च जोखिममा परेका छन्।
गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी मिलेर बोरामा बालुवा र स्याउला भरी तटबन्धलाई अस्थायी रूपमा जोगाउने प्रयास भइरहेको जानकारी दिनुभयो।
स्थानीयवासी प्रेमबहादुर थारूले भने, “पाँच वर्षअघि बनेको तटबन्ध यति छिट्टै बग्दा अब हामी गाउँमा कहिले पनि बाढी पस्छ कि भन्ने त्रासमा छौँ,” भन्नुभयो। त्यस्तै अर्का स्थानीय जमुना चौधरीले “नदी धार परिवर्तन गर्दै गाउँतिर आइपुगेको छ, यसपालि ठूलो बाढी आयो भने बस्ती नै डुब्ने खतरा छ,” भन्दै सरकारसँग दीर्घकालीन समाधानको माग गर्नुभयो।
अब तटबन्ध पुनर्निर्माण र स्थायी संरचना निर्माण नगरे कर्णाली नदीले गेरुवाका गाउँहरूलाई ठूलो संकट निम्त्याउने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।