स्व. मन्त्री अदनसिंह कठायतको सम्झनामा चन्दननाथ मावि गेटमा सालिक स्थापना

  • नमस्ते कर्णाली

  • १८, भदौ २०८२

    जुम्ला ।कर्णालीका पूर्व मन्त्री स्व. अदनसिंह कठायतको दीर्घकालीन राजनीतिक योगदान र सामाजिक सेवाप्रति सम्मान प्रकट गर्न उनको परिवारले चन्दननाथ नमुना माध्यमिक विद्यालयको गेटमा सालिक निर्माण गरेका छन्। विद्यालयको ६३औँ वार्षिकोत्सवकै अवसरमा सोमबार सालिकको अनावरण गरिएको हो।

    सालिकको अनावरण स्व. कठायतका भाइ तिलकसिंह कठायत र छोरा एवम् चन्दननाथ नगरपालिका जुम्लाका मेयर राजुसिंह कठायतले संयुक्त रूपमा गरे। अनावरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक/शिक्षिका, विद्यार्थी, अभिभावक, राजनीतिक दलका प्रतिनिधि तथा कठायत परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो।

    मेयर राजुसिंह कठायतले भने, “हामीले बाबुको सम्झनामा यो सालिक निर्माण गरेका हौं, ताकि उनको योगदान भावी पुस्ताले पनि सम्झिरहन सकोस्। यो सालिक प्रेरणाको स्रोत बन्नेछ।” उनका अनुसार करिब २ लाख ५० हजार लागतमा कालिगढमार्फत सालिक निर्माण गरिएको हो।

    विद्यालयका प्रध्यानाध्यापक टंकबहादुर महतले स्व. मन्त्रीको योगदानलाई स्मरण गर्दै भने, “हाम्रो विद्यालयमा उनको सालिक स्थापना गर्नु गर्वको कुरा हो। उनी शिक्षादेखि स्वास्थ्य र पूर्वाधार विकाससम्म अविस्मरणीय योगदानकर्ता हुनुहुन्छ।”

    स्व. कठायतले आफ्नो जीवनकालमा जुम्ला एयरपोर्ट, मिडल र हाई स्कूल, हालको चन्दननाथ मावि स्थापना लगायतका क्षेत्रमा नि:शुल्क जग्गा दान गरेका थिए। २०१९ सालदेखि २०३१ सालसम्म राष्ट्रिय पञ्चायतका मनोनीत सदस्य रहँदै शिक्षा, स्वास्थ्य, पूर्वाधार, सडक विस्तार, धार्मिकस्थल संरक्षण लगायतका क्षेत्रमा उल्लेखनीय योगदान गरेका थिए।

    उनी कृषि खाद्य, पुनर्वास र सिँचाइ सहायकमन्त्री, राप्ती अञ्चल अञ्चलाधीश तथा सम्माननीय राज परिषद् सदस्यसमेत बनेका थिए। कठायतले २०६७ सालमा “मेरो जीवन यात्रा र सेरोफेरो” नामक पुस्तक लेखेका थिए। उनलाई राजा विरेन्द्र र राजा ज्ञानेन्द्रद्वारा विभिन्न मानपदवी र पदकहरूले सम्मानित गरिएको थियो।

    २०७२ साल असार १० गते जुम्लामा निधन भएका स्व. अदनसिंह कठायत समाजप्रेमी, शिक्षाप्रेमी र दूरदर्शी व्यक्तित्वका रूपमा स्मरण गरिन्छन्। सालिक स्थापना कार्यलाई स्थानीय स्तरमा व्यापक प्रशंसा मिलिरहेको छ।

     

  • १८ भाद्र २०८२, बुधबार १२:५२ प्रकाशित

  • Nabintech