२१, भदौ २०८२
जुम्ला । पछिल्ला वर्षमा जुम्लाको तिला गाउँपालिका–८ स्थित जुम्लाकोटका महिलाहरू तरकारीखेतीमार्फत स्वरोजगार बन्दै आत्मनिर्भर बनेका छन्।
पहिले कृषिप्रति खासै चासो नदेखाएका महिलाहरू विभिन्न सीपमूलक तालिम र प्रविधिक ज्ञान पाएपछि तरकारीखेतीतर्फ आकर्षित भएका हुन्। वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) जुम्लाले सञ्चालन गरेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना लागू भएपछि गाउँमा आयआर्जनमा उल्लेखनीय सुधार आएको स्थानीयवासी शोभा बस्नेतले बताइन्।
बस्नेतका अनुसार गाउँमै जलवायु मैत्री कृषक पाठशाला स्थापना भएपछि कृषक समूहमार्फत मौसमी तथा बेमौसमी तरकारीखेती गरिँदै आएको छ। गत आवमा मात्र महिलाहरूले करिब एक लाख रुपैयाँ आम्दानी लिन सफल भएको उनले जानकारी दिइन्। उत्पादन भएका गोलभेँडा र अन्य तरकारी गाउँमै प्रतिकिलो ४० रुपैयाँमा बिक्री हुने गरेका छन् भने केही उत्पादन रारासेरी, नाग्म र खलङ्गा बजारसम्म पुगोस् भनी ढुवानीसमेत हुने गरेको छ।
स्थानीय लक्ष्मी रावतका अनुसार परियोजनाबाट उपलब्ध भएको हाते ट्र्याक्टरले खेती गर्न सहज भएको छ। जलवायु मैत्री कृषि प्रविधिबाट गड्यौल मल, झोल मल, कम्पोष्ट, बायोचार, प्लाष्टिक हाउस र पानी पोखरी प्रयोगले खेतीमा नयाँपन आएको छ।
तरकारी उत्पादनले महिलाहरूलाई आत्मनिर्भर बनाउन मद्दत गरे पनि बजारसम्म ढुवानी गर्न यातायात सुविधा नहुँदा समस्या झेल्नुपरेको स्थानीय कृषकहरूको गुनासो छ।











