जुम्लामा आन्दोलन र जेल काण्ड पछि सुरक्षा कडा, सेना–प्रहरी संयुक्त परिचालन

  • नमस्ते कर्णाली

  • काली बहादुर परियार

    जुम्ला,२६ भदौ।

    हालैकाे जेन–जी काे आन्दोलन र जिल्ला कारागारबाट कैदी फरार भएपछि जुम्लामा शान्ति सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनाको नेतृत्वमा जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकायले संयुक्त रूपमा २४ सै घण्टा प्रभावकारी पेट्रोलिङ्ग र सुरक्षा कारवाही थालिएकाे छ ।

    आन्दोलनको क्रममा चन्दननाथ नगरपालिका कार्यालय, केही पार्टी कार्यालय तोडफोड तथा आगजनी प्रयास भए पनि सुरक्षा फौजको सक्रियताले ठूलो क्षति हुन पाएन । आगलागी फैलिनसक्ने खतरालाई सेना र प्रहरीले समयमा नियन्त्रणमा लिएकाले ठूलो दुर्घटना टरेको देविदत्त गण जुम्लाका मेजर रामेश्वर कार्कीले जानकारी दिए ।

    सुरक्षा निकायका अनुसार, आन्दोलनकारीलाई नियन्त्रणमा लिन संयमता अपनाइएको हुँदा कुनै मानवीय क्षति भएन । यस क्रममा नेपाल प्रहरीका एक जवान र नगर प्रहरी एक जना घाइते भए पनि ठूला झडप हुन नपाएको मेजर कार्कीकाे भनाइ छ ।

    यसैबीच, भदौ २४ गते राति करिब १० बजेतिर जिल्लास्थित कारागारको गेट तोड्दै ३६ कैदी फरार भएका थिए । नेपाली सेनाको टोली तत्काल घटनास्थलमा पुगेर भागिरहेका ६ कैदीलाई पक्राउ गरी जेल प्रशासनलाई बुझाए पनि, सेनाको आगमन अघि ३६ कैदी फरार भइसकेका थिए ।

    पक्राउको खोजीकार्य जारी रहेको जिल्ला सुरक्षा निकायले जनाएको छ । भदौ २५ गतेसम्म तीन फरार कैदी पक्राउ गरी कारागारमा ल्याइसकिएको छ भने बाँकी कैदी खोजीमा सुरक्षा फौज परिचालित छन् । फरार कैदीको हुलिया वा स्थानबारे जानकारी पाएमा तत्काल सुरक्षाकर्मीलाई खबर गर्न सुरक्षा निकायले अनुरोध गरेकाे छ ।

    जिल्लाको शान्ति–सुरक्षा सामान्य बनाउन सरोकार निकाय, पत्रकार र स्थानीयको सहकार्य अपरिहार्य रहेको सुरक्षा निकायको भनाइ छ । कर्फ्यू र निषेधाज्ञा आवश्यक परे जिल्ला सुरक्षा समितिले निर्णय गर्ने जनाइएको छ ।

  • २६ भाद्र २०८२, बिहीबार १२:३९ प्रकाशित

  • Nabintech