२७, भदौ २०८२
काठमाडौं ।प्रतिनिधि सभा सदस्य सूर्य ढकालले हालैको जेनजी आन्दोलनपछि देशलाई शान्ति र पुनर्निर्माणको बाटोतर्फ अघि बढाउन सबै दल र पक्षहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्।
ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि पनि सत्तामा पुगेका व्यक्तिहरूले जनअपेक्षाअनुसार काम नगरेको, भ्रष्टाचार मौलाएको, र नयाँ पुस्ताको आकांक्षालाई बेवास्ता गरेकोप्रति गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
“एमालेलाई जनउत्तरदायी दलका रूपमा पुनर्निर्माण गर्ने”
ढकालले नेकपा एमालेलाई जिम्मेवार र जनउत्तरदायी दलका रूपमा पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। उनले जेनजी पुस्ताको भावना, अन्य भिन्न पुस्ताको अभिमत र आम जनताको अपेक्षालाई जोडेर अघि बढ्ने संकल्प व्यक्त गरेका छन्।
नेतृत्वमा वैज्ञानिक मूल्यांकन र संरचनागत सुधारको आवश्यकता
विज्ञप्तिमा नेतृत्व निर्माण र मूल्यांकनका लागि वैज्ञानिक प्रणाली बनाउनुपर्ने, सेना–प्रहरी, शसस्त्र, निजामती कर्मचारी र शिक्षक व्यवस्थामा संरचनात्मक सुधार आवश्यक रहेको उल्लेख गरिएको छ। साथै पार्टीभित्र छेडखानी र अपमानजनक व्यवहारलाई पूर्ण रूपमा अन्त्य गर्नुपर्नेमा ढकालको जोड छ।
आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली
सांसद ढकालले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन्।