नेपालगन्जमा शुक्रबार संविधानको रक्षाका लागि मौन प्रदर्शन

  • नमस्ते कर्णाली

  • २८, भदौ २०८२

    बाँके।नेपालगन्जमा शुक्रबार संविधानको रक्षाका लागि मौन प्रदर्शन गरिएको छ। “राष्ट्र जोगाऔं–संविधान जोगाऔं” भन्ने प्लेकार्डसहितको प्रदर्शन नेपाल पत्रकार महासंघ बाँके र नेपाल बार एसोसिएसनको अगुवाईमा तथा शान्ति र लोकतन्त्रका लागि पेशागत संगठन (पापड) को सहआयोजनामा सम्पन्न भएको हो।

    नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरिका अनुसार केन्द्रीय सर्कुलरअनुसार गरिएको प्रदर्शनले संवैधानिक मूल्य–मान्यता जोगाउन सबै एकजुट हुनुपर्ने सन्देश दिएको छ।

    पापडका तर्फबाट नेपालगन्ज उच्च अदालत बारका अध्यक्ष चित्र बहादुर शाहीले हालको जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रमले सात दशक लामो जनताको बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको भन्दै मौन प्रदर्शन आवश्यक भएको बताए।

    मौन प्रदर्शनमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईं, बाँके जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष मेहर सिंह खत्री, प्याव्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, प्राध्यापक संघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, नेपाल शिक्षक महासंघ बाँकेका उपाध्यक्ष शेखर रावत, नेपाल चिकित्सक संघका सदस्य डा. राहुल कुर्मी, वरिष्ठ अधिवक्ता विजय गुप्ता, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाललगायत अधिकारकर्मी, नागरिक समाज, पत्रकार तथा विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

  • २८ भाद्र २०८२, शनिबार ११:४६ प्रकाशित

  • Nabintech