३०, भदौ २०८२
सुर्खेत ।कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनका क्रममा सुर्खेतमा भएको क्षतिको स्थलगत अनुगमन गर्नुभएको छ।
उहाँले आज प्रदेश राजधानी वीरेन्द्रनगरमा आन्दोलनकारीद्वारा जलाइएका सरकारी तथा निजी भौतिक संरचनाहरूको अवलोकन गर्नुभएको हो। आन्दोलनका क्रममा मुख्यमन्त्री कँडेलको सरकारी निवास र वीरेन्द्रनगरको भैरवस्थानस्थित निजी निवासमा समेत तोडफोड र आगजनी गरिएको थियो।
जेन–जी आन्दोलनमा सहभागीहरूले सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय तथा व्यक्तिका निजी आवासलाई समेत निशाना बनाएका थिए। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयमा तोडफोडसँगै आगजनी गरिएको थियो।
त्यसैगरी आन्दोलनका क्रममा वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, प्रदेश सभा, नापी कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतका सरकारी संरचनामा ठूलो क्षति पुगेको छ। साथै राजनीतिक दलसँग आवद्ध व्यक्तिहरूको निजी आवासमा समेत आगजनी र लुटपाट भएको जनाइएको छ।