३१ भदौ २०८२
बाँके ।बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थालेका छन् । जिल्ला अदालत, बाँकेबाट लुटपाट गरिएको सामान नेपालगन्जका घरमा रहेको भन्ने सुराकका आधारमा प्रहरीले घरमा छापा हानेर फिर्ता गराएको छ ।
खासगरी सोफासेट, कुर्ची, टेबुल, एउटा ल्यापटपलगायत सामग्री फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । “केही साना सामान प्रहरी कार्यालयमा पनि बुझाएका छन्, केही हामी आफैँ खोजी गरिरहेका छौँ,” उहाँले भन्नुभयो । यसअघि जिल्ला प्रहरी कार्यालय, बाँकेले सूचना जारी गर्दै जेनजी आन्दालनका क्रममा सवारीसाधन, दस्तावेज वा अन्य कुनै सामग्री नियन्त्रणमा लिएको वा कतै फेला पारेको थाहा भए प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय, बाँकेले सूचना जारी गर्दै मुद्दा फाँटसँग सम्बन्धित सेवा सञ्चालनमा ल्याएको जनाएको छ । प्रशासन कार्यालयले भौतिक जिन्सीलगायत समस्त व्यवस्थापकीय सामग्री नष्ट भएकाले अन्य सेवा क्रमशः सञ्चालनमा आउने सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । नेपालगन्ज उपमहानगरपालिकाले सूचना जारी गर्दै आन्दोलनका क्रममा भएको लुटपाट र चोरी गरेर लगेका मेसिनरी औजारलगायत जिन्सी सामग्री फिर्ता गर्न आग्रह गरेको छ ।
उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामहरि शर्माले सूचना जारी गर्दै त्यस्तो गतिविधिमा संलग्न रहेकाको भिडियो, फुटेज र फोटा कार्यालय र अनुसन्धान गर्ने निकायमा आउन लागेको बताए । उनले लुटपाट गरिएका कतिपय सामग्री बजारमा बेचबिखन भएको समेत सूचना आउन थालेको जानकारी दिँदै लुटपाट भएका सामग्रीको खरिद–बिक्री नगर्न र नगराउन अनुरोध गरे । उपमहानगरपालिकासहित मातहतका वडा कार्यालयमा पनि आगजनी ह्ुनाका साथसाथै लुटपाट भएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।