३१, भदौ २०८२
जुम्ला ।जुम्लाको चन्दननाथ नगरपालिकामा जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले व्यापक तोडफोड तथा आगजनी गर्दा करिब ९८ लाख ७३ हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ।
आन्दोलनमा सहभागीहरुले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्दै दमकल, एम्बुलेन्स, शव बाहन, डोजर, महिन्द्रा जीप, हाइलक्स कार, स्कारपिओसहित ११ वटा मोटरसाइकल तथा स्कुटरमा तोडफोड र आगजनी गरेका थिए। मेयर राजु सिंह कठायतका अनुसार कार्यालयका सम्पूर्ण भौतिक संरचना र सेवा प्रवाहका उपकरणहरू समेत क्षतिग्रस्त बनेका छन्।
तोडफोडमा कम्प्युटर २ थान, एलसीडी २ थान, एकीकृत सेवा प्रणालीको टोकन मेसिन, डिजिटल नागरिक वडापत्र, डिजिटल बोर्डका स्पीकर २ थान, प्रिन्टर, वाटर डिस्पेन्सर २ थान, ६६ वटा झ्यालका सिसा, २० वटा कुर्ची, ७ सिट सोफा, ३ टेबुल तथा नगर प्रहरीका लौरीसहित विभिन्न सामग्री नष्ट गरिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार,
- सवारीसाधन तोडफोड तथा आगजनीबाट करिब ७९ लाख ७३ हजार रुपैयाँ,
- भौतिक संरचनामा करिब ६ लाख रुपैयाँ,
- मेसिनरी तथा डिजिटल सामग्रीमा १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
क्षतिग्रस्त सवारीसाधनमध्ये दमकलमा १ लाख, एम्बुलेन्समा ५ लाख, शव बाहनमा ५ लाख, डोजरमा १ लाख ५० हजार, महिन्द्रा जीपमा ५ लाख, हाइलक्समा १ लाख ५० हजार, स्कारपिओमा १० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ। यस्तै, ११ वटा मोटरसाइकल तथा स्कुटरमध्ये एक पूर्णरुपमा ध्वस्त, ४ वटा आगजनी र ६ वटा तोडफोड भएका छन्, जसको मूल्य करिब २० लाख रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ।
आन्दोलनका कारण चन्दननाथ नगरपालिकाले नियमित सेवाप्रवाहमा समेत समस्या भोगिरहेको बताइएको छ।