३१, भदौ २०८२
बाँके ।देशमा उत्पन्न विषम परिस्थितिका कारण यही असोज ३ गतेका लागि तय गरिएको ‘नेपालगञ्ज १० नाइट रन’ अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ। धारा नेपालगञ्ज म्याराथनको आयोजनामा हुन लागेको नाइट रनको दोस्रो संस्करण केही समयका लागि रोकिएको आयोजक समितिले जनाएको छ।
नाइट रन आयोजक समितिको भर्चुअल बैठकले पछिल्लो समय देशभर व्याप्त असहज परिस्थितिलाई मध्यनजर गर्दै दौड हाललाई स्थगित गर्ने निर्णय गरेको हो। एसोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (AIMS) को पूर्णकालीन सदस्यता प्राप्त गरेपछि पहिलोपटक आधिकारिक रूपमा यो दौडको आयोजना गरिँदै थियो।
धारा नेपालगञ्ज म्याराथनका संस्थापक तथा AIMS का नेपाल प्रतिनिधि टीएस ठकुरीले भने, “शुभेच्छुकहरूबाट तोकिएकै मितिमा दौड गर्नुपर्ने र स्थगन गर्नुपर्ने दुवै खालका सुझाव प्राप्त भए पनि, हाल मुलुक शोकमग्न अवस्थाबाट गुज्रिरहेको र तत्काल दौड आयोजना गर्नु असहज देखिएकोले स्थगन गर्नुपरेको हो।”
उनले हाल भइरहेको ऐतिहासिक आन्दोलन, त्यसपछिका हिंसात्मक घटनाक्रम र त्यसबाट भएको भौतिक तथा मानवीय क्षतिलाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको स्पष्ट पारे। ठकुरीले भने, “सयौँ व्यावसायिक धावकले अनलाइन फर्म भरिसक्नुभएको थियो, धेरै ठाउँबाट जिज्ञासा आइरहेका थिए। यस्तो समयमा कार्यक्रम स्थगित गर्नुपर्दा हामी दुःखी छौँ, तर यो यस वर्षकै लागि मात्र हो, उपयुक्त समयमा हामी यसलाई निरन्तरता दिनेछौँ।”
यस वर्षको नाइट रन विशेष हुने अपेक्षा गरिएको थियो। AIMS सदस्यतापछि विजेतालाई थाइल्याण्डको पर्यटकीय सहर बाङ्सेनमा हुने विश्वस्तरीय सडक दौडमा सहभागी गराउने तयारी पनि गरिएको थियो। यसले खेलाडीहरूमा थप उत्साह र प्रतिस्पर्धात्मक ऊर्जा थपेको आयोजक बताउँछन्।
अन्य तयारी यथावत्
नाइट रन स्थगित भए पनि असोज २८ गते हुने गौघाट ग्रीन रन र मङ्सिर ६ गते हुने धारा नेपालगञ्ज म्याराथन भने तय समयमै हुने आयोजकले जनाएको छ। यस्तै, स्थानीय तहमा सरसफाई लगायत सामाजिक कार्यमा पनि धारा म्याराथनको टिम सक्रिय हुने बताइएको छ।
२०७२ सालमा संविधान घोषणाको पृष्ठभूमिमा सुरु गरिएको नेपालगञ्ज म्याराथन सामाजिक एकता र सद्भाव कायम गर्न लक्ष्य राखिएको कार्यक्रम हो। जात, धर्म, भाषा, समुदाय र उमेर समूह फरक भए पनि सबैलाई एउटै भूमिकामा ल्याउने एक मात्र माध्यम सडक दौड भएकाले यो इभेन्टले सामाजिक चेतना अभिवृद्धिमा विशेष योगदान दिँदै आएको छ।
११ वर्षदेखि लगातार सञ्चालनमा रहेको धारा नेपालगञ्ज म्याराथन सम्भवतः नेपालको शीर्ष र स्थायित्व प्राप्त इभेन्टमध्ये एक हो। AIMS का दुई इभेन्ट (नाइट रन र म्याराथन) को पूर्णकालीन सदस्यता प्राप्त गर्ने नेपालगञ्ज सम्भवतः देशकै पहिलो सहर बनेको छ।