४, असोज २०८२
जुम्ला।जुम्लामा सम्पन्न विद्यालयस्तरीय यु–१४ फुटबल प्रतियोगितामा छात्रतर्फ चन्दननाथ माध्यमिक विद्यालय, खलंगा र छात्रातर्फ सरस्वती माध्यमिक विद्यालय, रीनीले उपाधि हात पारेका छन्।
जिल्ला फुटबल संघ, जुम्लाको आयोजनामा भएको प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ १० गरी कुल २६ टिमले सहभागिता जनाएका थिए। प्रतिस्पर्धात्मक खेलमार्फत चन्दननाथ माविले छात्रतर्फको फाइनलमा जेआर कर्णाली बोर्डिङ स्कूललाई ३–० ले पराजित गर्दै उपाधि उचाल्यो। त्यस्तै, छात्रातर्फ सरस्वती माविले पनि सोही विद्यालयलाई पराजित गर्दै च्याम्पियन बनेको हो।
विजयी टिमलाई जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य र प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे। कार्यक्रममा प्रमुख अतिथिहरूले बालबालिकामा खेलकुद, विशेष गरी फुटबलप्रतिको उत्साह प्रशंसनीय रहेको उल्लेख गर्दै दीर्घकालीन संरचना निर्माण र लगानी आवश्यकतामा जोड दिए।
फुटबल संघ जुम्लाका अध्यक्ष भरतबहादुर बुढाथापाले प्रतियोगिता शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जानकारी दिंदै विद्यालयस्तरमै रेफ्री उत्पादन गर्ने तथा गाउँ–बस्तीबाट भविष्यका खेलाडी तयार गर्ने लक्ष्य रहेको बताए।
टुडिखेलस्थित नेपाली सेनाको खेलमैदानमा भएको सो प्रतियोगिताले स्थानीय स्तरमै खेल चेतना बढाउँदै प्रतिभा पहिचानमा टेवा पुग्ने आयोजकको विश्वास छ। उत्कृष्ट प्रदर्शन गर्ने छात्र–छात्रालाई पनि सो अवसरमा सम्मान गरिएको थियो।