७, असोज २०८२
सुर्खेत ।यस वर्षको बडादशैं (२०८२) सोमबारबाट प्रारम्भ भएको छ । घटस्थापनाबाट सुरु भई विजयादशमीमा टीका–जमरा र आशीर्वाद ग्रहण गरी सम्पन्न हुने यो पर्व नजिकिँदै गर्दा सुर्खेतलगायत कर्णाली प्रदेशभर चहलपहल बढेको छ ।
कर्णालीको राजधानी वीरेन्द्रनगर बजारमा अहिले दशैं–तिहार लक्षित किनमेल गर्नेको भिड देखिन्छ । भीडभाड बढेसँगै व्यापारीहरू उत्साहित बनेका छन् भने यात्रुहरूको आवागमन पनि बढेको छ । दैनिक सयौं संख्यामा यात्रुबाहक सवारी साधन भित्रिने–बाहिरिने क्रमले शहरलाई थप व्यस्त बनाइरहेको छ । अध्ययन, रोजगारी र व्यापारका लागि वीरेन्द्रनगरमा बसोबास गर्नेहरू धमाधम गाउँ फर्किन थालेका छन् भने बाहिरिएका परिवारजन पनि घर फर्किँदै छन् ।
तर, यात्रुको भीडसँगै सुरक्षा चुनौती पनि बढेको छ । चाडपर्वमा बाटोमा चोरी, लुटपाट, ठगीजस्ता अपराध हुने, क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम बढ्ने तथ्यांक वर्षेनी देखिएको छ । यसै कारण कर्णाली प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजना ल्याउने तयारी गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता केदार खनालका अनुसार विगतका घटनाको विश्लेषण गरी नयाँ सुरक्षा रणनीति बनाइएको छ । यात्रुको सहजताका लागि नागरिक सहायता कक्षसमेत स्थापना गरिने तयारी छ ।
यातायात व्यवसायीले पनि यसपटक दशैंलाई दुर्घटनारहित बनाउन पहल थालेका छन् । काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले चालक र कर्मचारीलाई सचेत गराउँदै क्षमताभन्दा बढी यात्रु नबोक्ने र बिग्रेका सवारी नचलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चाडपर्व लक्षित १९ स्थानमा सहुलियत पसल
दशैं–तिहारका अवसरमा आम उपभोक्तालाई सहज बनाउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा १९ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । ३० भदौदेखि सुरु गरिएका यी पसल कात्तिक १० गतेसम्म सञ्चालन हुनेछन् ।
कम्पनीका अनुसार हाल सुर्खेत, दैलेख, जुम्ला, र रुकुम पश्चिमको सदरमुकामसहित कालीकोट, मुगु, हुम्ला, डोल्पा र जाजरकोटमा डीपोमार्फत सुपथ मूल्य पसल सञ्चालनमा छन् । यद्यपि, कतिपय ठाउँमा ढुवानी चुनौतीका कारण खाद्यान्न अझै पुगेको छैन ।
सहुलियत पसलमार्फत चामल र चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट, तेलमा प्रतिलिटर सात रुपैयाँ छुट दिइएको छ । यसले पर्वका बेला उपभोक्तालाई राहत मिल्ने अपेक्षा गरिएको छ ।
दशैंको महत्त्व
दशैं हिन्दूहरूको धार्मिक मात्र नभई सामाजिक, सांस्कृतिक, आर्थिक र राष्ट्रिय एकताको पर्व हो । देवी दुर्गाले महिषासुरको संहार गरी असत्यमाथि सत्यको विजय दिलाएको सम्झनामा यो पर्व मनाइन्छ । विजयादशमीका दिन अधर्ममाथि धर्म, अन्धकारमाथि प्रकाशको विजय भएको विश्वास गरिन्छ ।
सांस्कृतिक रूपमा दशैं परिवारलाई एकताबद्ध गर्ने अवसरको पर्व हो । टाढा रहेका सदस्यहरू घर फर्की टीका–जमरा र आशीर्वाद ग्रहण गर्दै मेलमिलाप र सद्भाव कायम गर्ने परम्पराले दशैंलाई अझ अर्थपूर्ण बनाएको छ ।
यसरी दशैं नजिकिँदै गर्दा सुर्खेतलगायत कर्णाली प्रदेश चहलपहलले जीवन्त बनेको छ, यात्रुको सुरक्षाका लागि विशेष योजना र सहुलियत पसलले यस वर्षको दशैंलाई अझ सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।