७, असोज २०८२
बाँके । जडिबुटी निर्यातका लागि देशकै प्रमुख नाका मानिने नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामै उल्लेख्य परिमाणमा जडिबुटी निर्यात भएको छ। नेपालगन्ज भन्सार कार्यालयका अनुसार साउन र भदौ महिनामा मात्रै तीन लाख ३० हजार छ किलो जडिबुटी निर्यात गरिएको छ।
कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलका अनुसार चालु आवमा करिब आठ करोड रुपैयाँ बराबरको जडिबुटी निर्यात भएको छ। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने पाँच करोड रुपैयाँ बराबरको दुई लाख ९६ हजार किलो जडिबुटी मात्र निर्यात भएको थियो। यस वर्षको निर्यात अघिल्लो वर्षको तुलनामा ५१ प्रतिशतले बढेको पौडेलले बताउनुभयो।
निर्यात वृद्धि भएपछि जडिबुटी व्यवसायसँग संलग्न किसान र व्यापारी दुवै उत्साहित बनेका छन्। भन्सार कार्यालयका अनुसार जडिबुटीसँगै खयर कत्था, एसेन्सियल आयल, अदुवा सुठो, खयर कच्छ, पिना र टायलको समेत निर्यात उल्लेख्य मात्रामा बढेको छ।
नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंक प्रसाद शर्माले चालु आवको सुरुमै भारतलगायतका मुलुकबाट जडिबुटीको माग बढेकाले निर्यात वृद्धिमा सहयोग पुगेको बताउनुभयो। उहाँले यस्तै माग निरन्तर रह्यो भने यस वर्षको कुल निर्यात अघिल्ला वर्षभन्दा धेरै हुने अनुमान गरिएको समेत बताउनुभयो।
जडिबुटी उत्पादनमा प्रचुर सम्भावना भएको पश्चिम नेपालका किसानका लागि यो सकारात्मक संकेत भएको बताउँदै संघले निर्यात वृद्धि निरन्तर कायम रह्यो भने यस क्षेत्रको आर्थिक स्तरमा ठुलो सुधार हुने विश्वास व्यक्त गरेको छ।











