रारा यात्रामा अवरोध: नाग्म–गमगढी सडकको जीर्ण अवस्था, पर्यटक र किसान दुबै सास्तीमा

  • नमस्ते कर्णाली

  • ७, असोज २०८२

    कर्णाली ।कर्णाली प्रदेशको सुन्दुर पर्यटन गन्तव्य रारा ताल पुग्ने आशामा हजारौँले यात्रा गर्ने नाग्म–गमगढी सडक अहिले सम्भावनाको बाधक बनेको छ। सरकारको वर्षौंदेखिको नीति र योजनाहरू कागजमै सीमित हुँदा यो सडक बर्खामा हिलो र जाडोमा धुलोको पर्याय बनेको छ।

    यसका कारण पर्यटकहरू रारा पुग्दा सास्ती खेपिरहेका छन्, जुम्ली किसानहरूको उत्पादन कुहिँदैछ, र स्थानीय विकास ठप्प जस्तै भएको छ।

    ९३ किलोमिटर सडकमा मात्र ६ किलोमिटर कालोपत्रे

    नाग्मदेखि मुगुको गमगढीसम्म फैलिएको ९३ किलोमिटर सडक खण्डमा अहिलेसम्म जम्मा ६ किलोमिटर मात्र कालोपत्रे भएको छ। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार, गत आर्थिक वर्ष २०८०/८१ मा कनकासुन्दरी गाउँपालिका अन्तर्गत पाण्डवगुफादेखि हाटसिंजा खण्डसम्म कालोपत्रे सम्पन्न भएको थियो। तर त्यसपछि न बजेट पर्यो, न काम अघि बढ्यो।

    सडक डिभिजनका इञ्जिनियर सौरभकुमार सिंह भन्छन्, “बजेट नहुँदा काम रोकिएको हो। यो वर्ष पनि २५ करोड मात्र आएको छ, जुन यो विशाल सडकका लागि पर्याप्त होइन।”

    यस बजेटले कालिकोटको रताडा, गाल्जे, नाग्म हुँदै गमगढी नाक्चेसम्मका सबै खण्डमा खर्च गर्नुपर्ने भएकाले ठोस सुधार सम्भव नदेखिएको उनको भनाइ छ।

    पर्यटकको अनुभव : ‘रारा भन्दा बाटो दुःखद’

    रारा ताल नेपालकै उत्कृष्ट पर्यटन गन्तव्य हो। तर त्यहाँ पुग्ने बाटोको दयनीय अवस्थाले यात्रुहरूको अनुभव निराशाजनक बनेको छ।

    पर्यटक सुसिला चौधरी भन्छिन्, “रारा हेर्ने रहर थियो, तर बाटोमा बिरामी परें। कालिकोटको गगनेखोलाको पहिरोले तीन दिन गाडीमै थुनिनुपर्‍यो। यस्तो यात्रा भन्दा घरमै बसेर फोटो हेरेकै बेस!”

    यस्तै, डाक्टरहरूको भनाइमा लामो समय हिलो, धुलो र जोखिमपूर्ण बाटोमा सास्ती खेप्दा धेरै पर्यटक स्वास्थ्य समस्यामा परेर फर्किने गरेका छन्।

    किसानको पीडा : स्याउ कुहिएर नष्ट

    सिंजा क्षेत्र स्याउ उत्पादनको मुख्य केन्द्र हो। हरेक वर्ष हजारौं क्विन्टल स्याउ उत्पादन भए पनि सडक नहुँदा किसानलाई बजार पुर्‍याउनै मुस्किल हुन्छ।

    हिमा गाउँपालिका–५ का किसान विकास रोकाया भन्छन्, “स्याउ टिप्ने बेलामा गाडी आउँदैन। हिलोमा गाडी चल्दैन, भाडा चर्को। बजार पुर्‍याउन नसक्दा नाफा त टाढाको कुरा, लागतसमेत उठ्दैन।”

    यसले स्थानीय कृषकहरूको मनोबल खस्किँदै गएको छ र स्याउ खेती विस्तारको सम्भावना पनि ओझेलमा परेको छ।

    आर्थिक जीवनधारमा संकट

    विश्लेषकहरूको भनाइमा, नाग्म–गमगढी सडक केवल यातायात मार्ग मात्र होइन, यो कर्णालीको आर्थिक, सामाजिक र पर्यटकीय जीवनधार हो। यसको उपेक्षा गर्नु भनेको प्रदेशको अर्थतन्त्रको गला थिच्नु हो।

    योजना, कार्यान्वयन र निगरानीमा कमजोरी हुँदा बजेट खर्च त हुन्छ, तर स्थायी समाधान आउँदैन।

    स्थानीयको चेतावनी : अब बाचा होइन, कार्यान्वयन

    स्थानीयवासी, व्यवसायी, किसान र पर्यटन क्षेत्रसँग सरोकार राख्ने सबै पक्ष एक स्वरमा भन्दै छन् – “अब बाचा होइन, ठोस कार्यान्वयन चाहिन्छ।”

    तिनीहरूको भनाइमा, सरकारले रारा र सिंजालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा उभ्याउने हो भने नाग्म–गमगढी सडकको तत्काल स्तरोन्नति अपरिहार्य छ।

    यो सडक कर्णालीको समृद्धिको गेट पास हो — जसलाई खुला राख्नु अब राष्ट्रिय दायित्व भएको उनीहरूको चेतावनी छ।

    सडक मात्रै ढिलो बनेको होइन, राजनीतिक दृष्टिकोण नै ढिलो उठेको हो। अब समृद्ध कर्णालीको सपना साकार पार्न ‘कागजी विकास’ होइन, व्यवहारिक परिवर्तन आवश्यक छ।

  • ७ आश्विन २०८२, मंगलवार १०:०० प्रकाशित

  • Nabintech