बाँकेका कारागार र बालसुधार गृहबाट फरार २५९ कैदी–बालबन्दी अझै खोजीमा

  • नमस्ते कर्णाली

  • ७, असोज २०८२
    बाँके । बाँके जिल्लाका दुई बालसुधार गृह र एक क्षेत्रीय कारागारबाट हालसम्म ३४० जना बालबन्दी तथा कैदी भागेका मध्ये २५९ जना अझै फरार रहेका छन्। कारागार र बालसुधार गृहका स्रोतका अनुसार पक्राउ परेका भने ८१ जना मात्र छन्।

    डुडुवास्थित जयन्दु बालसुधार गृहका प्रमुख किशोर शर्माका अनुसार सुधारगृहमा रहेका २२८ बालबन्दीमध्ये ११५ जना भागेका थिए। तीमध्ये ३३ जना पक्राउ परे पनि ८२ जना अझै फरार छन्।

    यस्तै, नौबस्ता बालसुधार गृहका प्रमुख श्यामबहादुर रानाले सुधारगृहमा रहेका १७६ बालबन्दीमध्ये प्रहरीसँगको झडपमा पाँच जनाको मृत्यु भएको र ७८ जना भागेको बताए। तीमध्ये हालसम्म २३ जना मात्र पक्राउ परेका छन् भने ५५ जना अझै फरार छन्।

    नौबस्ताकै क्षेत्रीय कारागारका प्रमुख जालन्धर भुषालका अनुसार ५८५ कैदीमध्ये १४७ जना फरार भएका थिए। तीमध्ये २५ जना पक्राउ परे पनि १२२ जना अझै फरार छन्।

    फरार रहेका सबै कैदीबन्दी र बालबन्दीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीले आवश्यक समन्वय गरी विभिन्न जिल्लामा खोजी अभियान चलाइरहेको जनाएको छ।

    स्मरणीय छ, जेनजी आन्दोलनका क्रममा बाँकेसहित देशभरका विभिन्न कारागार र बालसुधार गृहमा कैदीबन्दी भाग्ने घटना भएको थियो। तर, नेपालगन्जस्थित कारागारमा भने सेनाको कडा घेराबन्दीका कारण कैदी भाग्न सकेका थिएनन्। त्यतिबेला सेनाले गोली चलाउँदा कैलालीका एक कैदी घाइते भएका थिए।

     

  • ७ आश्विन २०८२, मंगलवार १०:०२ प्रकाशित

  • Nabintech