बर्दियाका केराखेतीमा बजार संकट

  • नमस्ते कर्णाली

  • ८,असोज २०८२
    बर्दिया । बर्दियामा उत्पादन हुने केराको उचित बजार नहुँदा किसानहरू निराश बनेका छन्। वर्षेनी ठूलो लगानी गरेर केरा खेती गर्ने किसानहरूले यस वर्ष पनि लागत अनुसारको मूल्य पाउन सकेका छैनन्। नजिकिँदै गएको दशैं–तिहार जस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै भारतीय केरा आयात बढेपछि बर्दियामा उत्पादित केरा बजारमा थन्किन थालेको किसानहरूको गुनासो छ।

    जिल्लामा वार्षिक झण्डै १५ हजार मेट्रिक टन केरा उत्पादन हुने गरेको छ। यसबाट करिब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने तथ्याङ्क छ। तर उचित बजार व्यवस्थापन नहुँदा किसानहरू न्यून मूल्यमै उत्पादन बेच्न बाध्य छन्।

    किसानहरूको भनाइमा कृषि विमामा पनि सरकार उदासीन देखिएको छ। रोगब्याधि वा विपद्का कारण उत्पादनमा क्षति हुँदा कुनै राहत पाउन नसक्ने किसानहरू थप समस्यामा परेका छन्। बर्दियामा केरा जोन कार्यक्रम लागु भएपछि करिब ५ सय हेक्टर क्षेत्रफलमा करिब ७ सय घरपरिवार केरा खेतीमा संलग्न छन्। जसमध्ये करिब ४ सय हेक्टर क्षेत्रफलमा मात्र गुलरिया नगरपालिकाका किसानहरूले केरा खेती गरिरहेका छन्।

    गुलरिया–३ का किसान रामबहादुर चौधरी भन्छन्,
    “हामीले लगानी अनुसार फाइदा पाएका छैनौँ। सरकारले बजार व्यवस्थापन गर्ने भने पनि व्यवहारमा केही गरेको छैन। चाडपर्वमा त अझ बढी समस्या हुन्छ, किनकि भारतीय केरा सजिलै पस्छ तर हामीले उब्जाएको केरा बजारमै थन्किन्छ।”

    यस्तै, गुलरिया–७ का अर्का किसान कृष्णप्रसाद शर्मा भन्छन्,“१५ हजार मेट्रिक टन उत्पादन हुने जिल्लामा बजारको ठोस व्यवस्था हुन सकेको छैन। हामीले उत्पादन गरेका केरा व्यापारीले न्यून मूल्यमा मात्र लिन्छन्। लागतसमेत नउठ्ने मूल्यमा बेच्न बाध्य छौँ। सरकारसँग गुनासो गरेका छौँ तर सुनुवाइ भएको छैन।”

    गुलरिया–५ का किसान लक्ष्मीदेवी थारुले महिलाहरू समेत केरा खेतीतर्फ आकर्षित भए पनि बजार अभावका कारण उत्साह मारिएको बताइन्।
    “हामी महिलाले पनि केरा खेतीमा लगानी गरेका छौँ। तर भारतीय केरा आउँदा हाम्रो केरा किन्ने कोही हुँदैन। अहिले प्रति दर्जन ४० रुपैयाँभन्दा तलमा बेच्न बाध्य छौँ, जसले लागतसमेत उठ्दैन। यस्तो भएमा कृषकलाई खेती गर्न मन छैन।”

    स्थानीय किसानहरूले लामो समयदेखि बजार व्यवस्थापन, भण्डारण गृह, कृषि बीमा र सीमा नाकामा कडाइ गरी भारतीय केरा आयात नियन्त्रण गर्न माग गर्दै आएका छन्। तर सरकारी निकायहरूले यसतर्फ चासो नदिँदा किसानहरूको समस्या वर्षेनी दोहोरिन थालेको छ।

    विशेषगरी गुलरिया, मधान, ठाकुरबाबा, बारबर्दिया लगायतका क्षेत्रमा उत्पादन भएका केराले अहिले पनि बजार पाउन नसक्दा ठूलो मात्रामा घाटा व्यहोर्नुपर्ने अवस्था छ। किसानहरूले आफ्नो उत्पादन बजारमै कुहिएर जाने अवस्थाले खेतीप्रतिको विश्वास कमजोर हुँदै गएको चेतावनी दिएका छन्।

    किसानहरूले अब पनि सरकारले चाँडो ध्यान नदिए बर्दियामा केराखेती संकटमा पर्ने र उत्पादन घट्ने खतरा रहेको बताएका छन्। उनीहरूका अनुसार स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने ठोस नीतिबिना किसान टिक्न नसक्ने अवस्था छ।

     

  • ८ आश्विन २०८२, बुधबार १०:४८ प्रकाशित

  • Nabintech