८, असोज २०८२
जुम्ला । गत भदौ २४ गते राति जुम्ला कारागारबाट एकैपटक ४१ जना कैदी फरार भएका थिए। तीमध्ये हालसम्म ३० जना पुनः नियन्त्रणमा आइसकेका छन् भने ११ जना अझै पनि फरार छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार फरारमध्ये पाँच जनालाई त्यही रात पक्राउ गरिएको थियो भने अन्य कैदीहरू पछिल्लो दिनहरूमा आफैं कारागार फर्किएका हुन्। प्रहरी नायब उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीले सुरुवाती चरणमा कैदीहरूलाई स्वेच्छाले फर्किन अपिल गरिएको भए पनि अहिले खोजी अभियानलाई तीव्र पारिएको जानकारी दिए।
उनका अनुसार फरार कैदीहरूको फोटो र विवरण सबै प्रहरी चौकीहरूमा पठाइसकिएको छ। “सुरुमा हामीले आश गरेका थियौं कि उनीहरू आफैं फर्किन्छन्,” रेग्मीले भने, “तर अब कानुनी प्रक्रिया अनुसार पक्राउ गरेर ल्याउन बाध्य हुनेछौं।”
डीएसपी रेग्मीका अनुसार लामो सजाय भोगिरहेका कैदीहरू मध्ये धेरैजना कारागार फर्किइसकेका छन्। तर अझै फरार रहेका अधिकांशको सजाय अवधि छोटो रहेको र केहीलाई अदालतबाट न्यून सजाय तोकिएको थियो। उनीहरूको खोजीका लागि प्रहरी स्थानीय तह, वडाकार्यालय र परिवारसँग समेत समन्वय गरिरहेको छ।
भदौ २४ गते राति कैदीहरूले कारागारभित्र रहेका प्रहरी र नाइकेमाथि चिर्पट प्रहार गरी ढोका फोडेर सामूहिक रूपमा भागेका थिए। यस घटनाले नेपालको कारागार सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।
हाल जुम्ला कारागारमा सुरक्षा व्यवस्थालाई थप कडा पारिएको छ। साथै अन्य संवेदनशील कारागारहरूमा पनि निगरानी बढाइएको प्रहरीले जनाएको छ।
जुम्ला कारागारमा हाल एक नाबालकसहित ९८ जना कैदीबन्दी छन्, जसमा पाँच जना महिला कैदीसमेत रहेका छन्।