नवलपरासी कारागारमा २२२ कैदीबन्दी फर्किए

  • नमस्ते कर्णाली

  • ९, असोज २०८२
    messenger sharing button
    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी छ ।

    नवलपरासी कारागारमा अहिलेसम्म २२२ कैदीबन्दी फर्किएका कारागारका जेलर विकल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गत भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदीबन्दी भागेका थिए ।

    कैदीबन्दीले कारागारलाई आफ्नो नियन्त्रणमा लिएर कारागारबाट भागेका बताउँदै जेलर श्रेष्ठले १७ पुरुष र १२ जना महिला नभागी कारागारमा बसेका जानकारी दिनुभयो । कारागारको स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले कैदीबन्दीलाई केही नगरी निस्किन दिएको थियो ।

    कैदीहरू यसरी भागेपछि थप सजाय हुनसक्ने सूचना जारी गरी फर्किन अनुरोध गरेसँगै दैनिकजसो कैदीबन्दी कारागारमा फर्किन थालेका उहाँले बताउनुभयो ।

    नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये ४० जना भारतीय नागरिक रहेका जनाउँदै जेलर श्रेष्ठले एकजना कारागार फर्किसकेका बताउनुभयो । उहाँका अनुसार नवलपरासी कारागारका १३ जना कैदीबन्दी मुलुकका अन्य कारागारमा गएर हाजिर भएका छन् भने अन्य कारागारका छ जना यहाँ आएका छन् ।

    केन्द्रीय कारागारबाट भागेका दुई जना मोरक्कोका र एक जना साउथअफ्रिकाका नागरिक (कैदीबन्दी) नवलपरासी कारागारमा रहेका जेलर श्रेष्ठले जानकारी दिनुभयो ।

  • ९ आश्विन २०८२, बिहीबार ११:२८ प्रकाशित

  • Nabintech