• नमस्ते कर्णाली

  • ९, असोज २०८२

    बाँके ।पश्चिम तराईका बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका जंगलमा नजर पुर्‍याउँदा प्रशस्तै देखिन्छन् धमिराले बनाएका अग्ला थुम्का, जसलाई स्थानीयले ‘धमिराको दरबार’ भन्छन्। बाहिरबाट सामान्य देखिने यी देवलभित्र कोठा–कोठा विभाजन भएको जस्तै संरचना पाइने भएकाले यसलाई दरबारसँग तुलना गरिएको हो।

    धमिराको देवल केवल प्राणीको बासस्थान मात्र नभई सांस्कृतिक आस्था, धार्मिक विश्वास, जैविक विविधता र सम्भावित प्राकृतिक स्रोतसँग जोडिएको सम्पदा पनि बनेको छ।

    मध्यवर्ती क्षेत्रमा बस्ने थारु समुदाय यसलाई पवित्र मान्छन्। गाभरभ्यालीकी ६० वर्षीया फुलमाया थारु भन्छिन् – “धमिराको गोललाई हामी पूजाआजामा प्रयोग गर्ने पवित्र माटो ठान्छौं। भगवानका मूर्ति बनाउन प्रयोग गर्दा अझै फलदायी हुन्छ भन्ने हाम्रो पुस्तागत विश्वास छ।”

    धमिराको देवल जैविक विविधताका लागि पनि महत्वपूर्ण छ। लोपोन्मुख सालक धमिरालाई आफ्नो मुख्य आहार बनाउँछ। एक वयस्क सालकले वर्षको करिब ७ करोडसम्म धमिरा र कमिला खान्छ, जसका कारण सालक प्रायः धमिराको देवल वरिपरि देखिन्छ। गाभरभ्यालीमा होमस्टे सञ्चालन गर्ने कृष्ण चौधरी भन्छन् – “धमिराको दरबार भनेको सालक जस्ता लोपोन्मुख प्राणीलाई बचाउने आधार पनि हो। त्यसैले यसको संरक्षण अनिवार्य छ।”

    अनुसन्धानकर्ताले धमिराको देवलभित्र बहुमूल्य धातु पाइन सक्ने सम्भावना औंल्याएका छन्। डिभिजन बन कार्यालय बाँकेका प्रमुख शंकर प्रसाद गुप्ता भन्छन् – “केही देवल १७–१८ फिटसम्म अग्ला छन्। यसको भित्री संरचना मान्छेले बनाएको कोठाजस्तै भएकाले यसलाई प्रकृतिको अद्भुत कलाकृति भन्न सकिन्छ।”

    तर, सम्भावित धातुको लोभ, अज्ञानतापूर्वक गरिएको क्षति र जंगलभित्रका अन्य गतिविधिले धमिराको देवल जोखिममा पारेका छन्। यही कारण संरक्षणकर्मी, स्थानीय समुदाय र निकुञ्ज प्रशासन यसको संरक्षणमा जुटिरहेका छन्।

    धमिराको दरबारले सांस्कृतिक धरोहर, धार्मिक आस्था, जैविक विविधता र सम्भावित प्राकृतिक स्रोतलाई एकैसाथ जोडेको छ। यसैले यसलाई केवल धमिराको घर नभई प्रकृतिको अनमोल उपहारका रूपमा हेरिन थालेको छ।

     

  • ९ आश्विन २०८२, बिहीबार ११:३३ प्रकाशित

  • Nabintech