संविधान पक्षधरहरुबीच एकता र आत्मसमिक्षा जरुरी छ’

  • नमस्ते कर्णाली

  • १०, असोज  २०८२

    सुर्खेत ।नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान निर्माण गर्ने राजनीतिक दलहरुबीच आपसी एकता र आत्मसमिक्षा जरुरी रहेको बताएका छन् । नेपाल पे्रस युनियनद्धारा सुर्खेतमा विहीबार आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता खड्काले देश यो अवस्थामा कसरी पुग्यो भनेर प्रत्येक राजनीतिक दलले आत्मसमिक्षा र कतिपय सन्दर्भमा आत्मआलोचित समेत हुनुपर्ने बताए ।


    उपसभापति खड्काले संविधान पक्षधर दलहरुले एक आपसमा आरोप प्रत्यारोप नगरी संयमता, धैर्यता र पार्टी–पार्टीबीचको एकतालाई कायम राख्नुपर्ने धारणा राखे । ‘आम जनतामा त्रास फैलिएको छ, मुलुकुलाई यो त्रासदीबाट, यो ध्वंशबाट उठाउनुपर्नेछ, अहिले कुनै प्रकारको उत्तेजना ल्याउने कुरा गर्नुहुँदैन, एक अर्कालाई दोष दिएर होइन, उनले भने, यस्तो अवस्थामा हामी कहाँ–कहाँ चुक्यौं, आ–आफ्‌ना पार्टीमा छलफल गरी फेरी जनतामाझ जानुपर्नेछ ।’
    उनले सभापति शेरबहादुर देउवाको स्वास्थ्य सुधार हुँदै गएकाले दसैं लगत्तै कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बस्ने जनाए । उक्त बैठकमा पार्टीका कमजोरी, पार्टी रुपान्तरण गर्ने विषयमा छलफल हुने उनको भनाई छ । ‘हाम्रा केही गल्तीहरु थिए होलान्, हामी सुधार्दै आएका पनि थियौं, भ्रष्टाचार नियन्त्रणका लागि हाम्रै नेताहरुमाथि छानबिन भइरहेको थियो, मुद्दाहरु नै चलिरहेकै थियो, यी सबै हुँदा पनि विध्वंश मच्चाउने काम भयो, उनले भने, ‘यो सामान्य अवस्था होइन, एउटा ठूलो ग्रान्ड डिजाइन हो, अब हामी एकताबद्ध भएर षडयन्त्रकारी र विध्वंशकारीका तानाबानाविरुद्ध जनतालाई बुझाउनुपर्नेछ ।’

    पूर्व उपप्रधान तथा रक्षासमेत रहेका उपसभापति खड्काले आफूले काठमाडौं घर–जग्गा नजोडेको प्रष्ट पारे । ‘अहिले एउटा न्यारेटिभ बनाइएको छ, चप्पल लगाएर काठमाडौं आएका नेता भनेर, तर मेरो स्थिति त्यो होइन, म पाँच कक्षा पढ्दादेखि सुट लगाउन थालेको हुँ, आमा जिम्मुवालको छोरी र बुवा मुखिया हुनुहुन्थ्यो, उनले भने, ‘तर सबै नेतालाई एउटै न्यारेटिभले हेरिनुहुँदैन, मेरो काठमाडौं घर घडेरी केही छैन्, भाईका लागि ससुरालीले बनाइदिएको घरमा बस्थेँ, त्यही पनि जलाइदिए ।’ विगतमा ८–८ वटा मन्त्रालय चलाउँदा समेत आफूले कुनै गलत काम नगरेको दाबी गरे ।
    उपसभापति खड्काले जेनजी आन्दोलनमा विध्वंशकारीको घुसपैठका कारण राज्यका तीन वटै निकायमात्र नभई प्रजातन्त्रको प्रतिक विराटनगरको कोइराला निवास, चाक्सीबारीस्थित सर्वोच्च नेता गणेशमान सिंहको निवास र राज्यले बनाइदिएको सन्त नेता जो बालुवाटारबाट निस्कँदा सुराही र बाकस लिएर फर्कनुभएका किसुन्जी आश्रम खरानी बनाइएको बताए । साथै उनले तत्काल छानबिनको काम अघि बढाएर यो स्थिति कसरी सिर्जना भयो भनेर सरकारले आम नेपाली जनतालाई प्रष्ट पार्न आग्रह गरे ।

    २३–२४ भदौको जेन–जी आन्दोलनका क्रममा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा निवासमा भेटिएको पैसाका विषयमा पनि खड्काले मुख खोलेका छन् । खड्काले देउवा निवासमा पैसा भेटियो भन्दै गरिएको प्रचारका विषयमा बोलेका हुन् । उनले सो विषयमा देउवाको निजी सचिवालयले जारी गरेको सूचनाभन्दा बाहिर गएर पार्टीले फरक धारणा नबनाएको दावी गरे । ‘सभापतिज्यूको निजी सचिवालयबाट सात दिनअघि आधिकारिक विज्ञप्ती निकालिएको छ । त्यो विज्ञप्ती जे हो, त्यो नै साचो कुरा हो । पछिको कुरा छट्टै हो । उहाँको निजी सचिवालयले निकालेको विज्ञप्तीभन्दा पार्टीको धारणा पृथक हुन सक्दैन । यस विषयमा सचिवालयले विस्तारित अध्ययन गरेर थप तथ्य ल्याउला,’ खड्काले भने ।

     

  • १० आश्विन २०८२, शुक्रबार ०६:२९ प्रकाशित

  • Nabintech