कर्णालीमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : तीन हजारभन्दा बढी प्रहरी परिचालन

  • नमस्ते कर्णाली

  • १०, असोज २०८२

    सुर्खेत ।दसैँ, तिहार र छठ जस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा विशेष सुरक्षा योजना कार्यान्वयनमा आएको छ । कर्णाली प्रदेश प्रहरीले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना’ तयार गरी प्रदेशका १० वटै जिल्लामा लागू गरेको हो ।

    कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) केदार खनालका अनुसार चाडपर्वका समयमा बढ्ने भीडभाड, आपराधिक गतिविधि र सडक दुर्घटनालाई न्यूनिकरण गर्न विशेष सुरक्षा रणनीति अपनाइएको हो । उनले भने, “कर्णालीमा दसैँ, तिहार र छठका बेला नागरिकलाई सुरक्षित वातावरण दिन आवश्यक प्रहरी परिचालन र निगरानी बढाइएको छ ।”

    खनालका अनुसार विगत तीन वर्षमा चाडपर्वका बेला चोरी, लुटपाट, झगडा, जुवातास, हत्या, बलात्कार र सडक दुर्घटनाका घटना बढी देखिएका थिए । त्यसको गहिरो विश्लेषणपछि यसपटकको सुरक्षा रणनीति तय गरिएको हो । नागरिकलाई पनि सचेत रहन आग्रह गर्दै उनले अपराधिक मानसिकताका व्यक्तिहरुलाई पहिचान गरी प्रहरीलाई जानकारी दिन अनुरोध गरे ।

    जेन–जी आन्दोलनपछि थप सतर्कता

    गत भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनले शान्ति सुरक्षामा प्रतिकूल असर पारेको भन्दै चाडपर्वमा थप सुरक्षा जोखिम बढ्न सक्ने आँकलन गरिएको छ । लुटपाट भएका हातहतियार, कारागारबाट फरार भएका कैदीबन्दी तथा अन्य आपराधिक पृष्ठभूमिका व्यक्तिहरु पर्वको समयमा घर आउन सक्ने भएकाले प्रहरीलाई अझ चनाखो बनाइएको छ ।

    तीन हजार नौ सय आठ प्रहरी खटाइएका

    विशेष सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर ३ हजार ९ सय ८ जना प्रहरी खटाइएका छन् । एक हजार २१८ वटा ड्युटीमा विभाजन गरिएको जनशक्ति विभिन्न प्रकारका गस्ती र चेकजाँचमा सक्रिय छन् ।

    प्रहरीका अनुसार ५३ मोबाइल गस्ती, ११२ मोटरसाइकल गस्ती, ९२ द्रुत प्रतिकार्य टोली (क्यूआरटी), १७८ पैदल गस्ती र २० लामो तथा छोटो दूरीका गस्ती सञ्चालनमा छन् । १३० स्थानमा जाँचस्थल, ७५ स्थानमा ट्राफिकसहित संयुक्त चेकजाँच र ९२ स्थानमा नियमित तथा आकस्मिक जाँच भइरहेको छ ।

    बैंक तथा वित्तीय संस्था, बजार, धार्मिक स्थल र पर्यटकीय क्षेत्रको सुरक्षामा ४३ स्थानमा प्रहरी खटाइएको छ । यात्रु तथा नागरिकको सुविधाका लागि ४३ वटा सहायता कक्ष स्थापना गरिएको छ । भिडभाड हुने क्षेत्रमा २४ सैं घण्टा निगरानी, तालिम प्राप्त कुकुर र ड्रोनमार्फत निगरानीको व्यवस्था गरिएको छ ।

    कर्णाली राजमार्ग अवरुद्ध हुन नदिइने

    विशेष गरी दसैँतिहारका बेला पहिरोका कारण अवरुद्ध हुने कर्णाली राजमार्गलाई नियमित सञ्चालनमा राख्न सडक डिभिजन कार्यालय जुम्लाले तयारी अवस्थामा उपकरण र जनशक्ति खटाएको छ ।

    सूचना अधिकारी इन्जिनियर प्रदिपनारायण चौधरीका अनुसार कालीकोटको शुभकालिका–१, गगने खोलालगायत पहिरो बढी खस्ने क्षेत्रमा डोजर, भ्याक्कु लोडरलगायत उपकरण तयारी अवस्थामा राखिएका छन् । सुर्खेत र दैलेख खण्डमा समेत आवश्यक उपकरण तत्पर अवस्थामा राखिएको उनले जानकारी दिए ।

    चाडपर्वका बेला नागरिकलाई सुरक्षित वातावरण दिन प्रहरी र सम्बन्धित निकाय पूर्ण रूपमा प्रतिवद्ध रहेको जनाएको छ ।

  • १० आश्विन २०८२, शुक्रबार ०६:३३ प्रकाशित

  • Nabintech