११, असोज २०८२
कर्णाली ।दशैँ सुरु भएसँगै देशैभर चहलपहल बढिरहेको छ । कर्णाली प्रदेश पनि यस उत्सवको माहोलबाट अछुतो छैन । रोजगारी, अध्ययन, व्यापार व्यवसायलगायतका कामले प्रदेशबाहिर गएका कर्णालीबासी दशैँको उमङ्गसहित फर्किन थालेका छन् । कोही आफ्ना परिवारसँग भेटघाट गरी घरधुरी पुगेका छन् भने कोही अझै बाटोकै यात्रामा छन् ।
दैनिक हजारौँको संख्यामा भारत र तेस्रो मुलुकबाट फर्किएका नागरिकहरू परिवारसँग दशैँ मनाउने अभिलाषा बोकेर कर्णाली प्रवेश गर्दैछन् । दशैँलाई पारिवारिक मिलनको उत्सवका रूपमा लिइने भएकाले यसले गाउँघरमा नयाँ उत्साह थपेको छ ।
भौगोलिक दृष्टिले विकट मानिने कर्णाली प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र ऐतिहासिक धरोहरका कारण भने समृद्ध छ । भेरी र कर्णाली नदीसहितका जलस्रोतहरूले यो प्रदेशलाई जलविद्युत र सिँचाइको भण्डार बनाएका छन् । उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा प्रख्यात कर्णाली पुरानो “शिल्क रोड” को ऐतिहासिक पहिचान बोकेको छ ।
रारा ताल, सिंजा उपत्यका, दुल्लू दरबार, काँक्रेविहार, देउती बज्यै मन्दिर, दैलेखको पञ्चकोशी ज्वाला क्षेत्र, कालीकोटको पचाल झरना, डोल्पाको शे–फोक्सुन्डो ताल, सल्यानको कुपिन्डे दह र जाजरकोट दरबार जस्ता गन्तव्यहरूले कर्णालीलाई पर्यटकीय दृष्टिले अत्यन्त आकर्षक बनाएका छन् । धार्मिक आस्थासँगै सांस्कृतिक सम्पदा र मौलिक जीवनशैलीले यो प्रदेशलाई “खुला संग्रहालय” का रूपमा चिनाएको छ ।
कर्णाली पुग्ने मुख्य बाटो सडक भए पनि सुर्खेत हुँदै हवाई मार्गमार्फत पनि माथिल्ला जिल्ला जुम्ला, डोल्पा, हुम्ला र मुगु पुग्न सकिन्छ । दशैँ–तिहारको बिदामा कोहलपुर–सुर्खेत–दैलेख हुँदै कर्णाली प्रवेश गर्ने आन्तरिक पर्यटकहरूको संख्या बढिरहेको छ ।
सुर्खेतको काँक्रेविहार र देउती बज्यै मन्दिरदेखि जुम्लाको सिंजा, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुन्डो ताल, कालीकोटको पचाल झरना हुँदै हुम्लाको लिमी भ्यालीसम्मका रमणीय दृश्यहरूले पर्यटकलाई लोभ्याइरहेका छन् । यिनै विविधता र ऐतिहासिक महत्त्वका कारण कर्णालीलाई “धरतीमै स्वर्ग” उपमा दिइएको छ ।
दशैँको छुट्टै अवसरलाई उपयोग गर्दै कर्णालीको प्राकृतिक सौन्दर्य, ऐतिहासिक धरोहर र सांस्कृतिक पहिचान नजिकबाट नियाल्ने राम्रो अवसर प्राप्त हुने भएको छ । यसरी पर्वसँगै घुमफिरले स्थानीय पर्यटनलाई टेवा पुर्याउने मात्र नभई कर्णालीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान अझ प्रबल पार्ने अपेक्षा गरिएको छ ।