११, असोज २०८२
जुम्ला ।जुम्लाको पातारासी गाउँपालिकाले दीर्घकालीन आवश्यकताको रुपमा रहेको प्रशासकीय भवन निर्माणको औपचारिक थालनी गरेको छ। गाउँपालिकाको केन्द्र लासीमा एक विशेष समारोहका बीच अध्यक्ष पूर्णसिंह बोहोराले भवनको शिलान्यास गर्दै गाउँपालिकाको विकास र सेवा प्रवाहमा नयाँ अध्यायको सुरुवात भएको घोषणा गरेका हुन्।६ करोड ७५ लाखको लागतमा निर्माण हुने उक्त भवनको ठेक्का स्थानीय निर्माण कम्पनी विके जेएनएस जे भी जुम्लाले पाएको छ। दुई वर्षको अवधि भित्र सम्पन्न गरिने गरी गरिएको सम्झौताअनुसार भवनमा २७ वटा कार्यालय कोठा, सेवाग्राही प्रतीक्षालय, मिटिङ हल, शौचालय, पहुँचयुक्त संरचना लगायतका सुविधा रहनेछन्।
हालसम्म विभिन्न ठाउँमा छरिएर रहेका कार्यालय र सेवाका कारण स्थानीयवासीले भोग्नुपरेको असहजतालाई अन्त्य गर्दै गाउँपालिकाले एउटै छानामुनि सबै सेवा उपलब्ध गराउने उद्देश्यसहित भवन निर्माणको योजना अघि सारेको हो।”प्रशासकीय भवन केवल संरचना मात्र होइन, यो सेवा र विकासको मुटु हो,” अध्यक्ष बोहराले शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै भने, “हामी यसलाई समयमै, गुणस्तरीयरूपमा सम्पन्न गरी जनताको सेवा सहज बनाउनेतर्फ प्रतिवद्ध छौं।राष्ट्रिय झण्डा वर्षमा एकपटक मात्र परिवर्तन गरिने परम्पराअनुसार भवन शिलान्यास कार्यक्रमकै अवसरमा नयाँ झण्डा फेर्ने कार्य समेत सम्पन्न गरियो। झण्डा परिवर्तनसँगै धार्मिक विधिअनुसार पूजापाठ पनि गरिएको थियो।स्थानीय संस्कार र परम्पराको सम्मान गर्दै गरिएको उक्त क्रियाकलापले कार्यक्रमलाई अझ गरिमामय बनाएको थियो।”कार्यक्रममा गाउँपालिकाका वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।पातारासी जस्तो दुर्गम क्षेत्रका लागि एकीकृत सेवा केन्द्र निर्माण हुनु आफैमा ऐतिहासिक उपलब्धि रहेको सहभागीहरूको धारणा थियो। उनीहरूले यस्ता संरचनाले स्थानीय शासनलाई जनमुखी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।पातारासी गाउँपालिकाले पछिल्ला वर्षहरूमा पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सञ्चारको क्षेत्रमा विभिन्न योजनाहरू अगाडि सारेको छ।तर, स्थायी संरचना र प्रशासनिक एकीकरणको अभावले योजनाहरू कार्यान्वयनमा कठिनाइ आइरहेको जनगुनासो पाइँदै आएको थियो।यस प्रशासकीय भवनले अब त्यो अभावलाई टाल्ने मात्रै होइन, पूर्णरूपमा अन्त्य गर्ने अपेक्षा गरिएको छ।गाउँपालिकाले यो भवनलाई ‘स्मार्ट प्रशासन’ को थालनीका रूपमा लिएको छ। भवनमा सूचना प्रविधिमैत्री सेवा, डिजिटल अभिलेखन प्रणाली, ऊर्जा दक्ष प्रविधि, तथा अपाङ्गमैत्री पहुँचलाई विशेष प्राथमिकता दिइने अध्यक्ष बोहराले जानकारी दिए।
शिलान्यासले केवल भवन निर्माणको औपचारिकता पुरा गरेको होइन, पातारासी गाउँपालिकाको समग्र विकास, सुशासन र जनसेवा प्रवाहतर्फको प्रतिबद्धता पुनः पुष्टि गरेको छ।पातारासी गाउँपालिकाको यो पहलले स्थानीय तहमा दिगो विकास र संस्थागत सुदृढीकरणको नमूना पेश गरेको छ। यस्तो अभिमुखीकरणले गाउँपालिकालाई मात्र होइन, सम्पूर्ण कर्णाली प्रदेशका दुर्गम गाउँपालिकाहरूलाई समेत प्रेरणा दिने अपेक्षा गरिएको छ।