दशैँको रौनक हराएको गिरीघाट : ११ वर्षदेखि पालमुनी दशैँ मनाउँदै बाढीपीडित

  • नमस्ते कर्णाली

  • १२, असोज २०८२

    सुर्खेत ।देशभर दशैँको रौनक छाएको छ । शहर–बजारदेखि गाउँघरसम्म टीका, जमरा र भेटघाटको तयारी चलिरहेको छ । तर, कर्णाली राजमार्ग छेउ गिरीघाट बस्ती भने अझै सुनसान छ । ११ वर्षअघि भेरी नदीको बाढीले घर–जग्गा बगाएर विस्थापित भएका ११९ भन्दा बढी परिवार अहिले पनि पालमुनी दशैँ मनाउन बाध्य छन् ।

    २०७१ सालको साउन महिनामा आएको बाढीले हरिहरपुर क्षेत्रका सयौँ परिवार उजाड बनाएको थियो । सिस्नेरी, पाग्मा, दुबिचौर र थापाडेरा जस्ता बस्तीकै मान्छेले आफन्त गुमाए । केवल सिस्नेरीमै ३२ घर पूर्ण रूपमा विस्थापित भएका थिए । आजसम्म पनि ती परिवारहरू पुनःस्थापित हुन सकेका छैनन् ।

    ७१ वर्षीय रूपलाल कुमाल त्यही बाढीले विस्थापित भएका मध्येका एक हुन् । उनी भन्छन्, “दशैँ आउँछ, तर हाम्रो जीवनमा कुनै उमङ्ग ल्याउन सक्दैन । बिहान बेलुकी छाक टार्नै मुस्किल छ, कसरी चाड मनाउने ?” रूपलालले अहिले राजमार्ग किनारमा यात्रुहरूलाई चाउचाउ, बिस्कुट, चुरोट बेचेर परिवार धानिरहेका छन् ।

    त्यसैगरी, गोपाल विकले पनि दशैँलाई ‘पीडा र ऋणको भारी’ भएको बताए । उनका अनुसार पालमुनी बस्दै वर्षौं भयो, तर राज्यले अझै पुनर्स्थापनाको स्थायी व्यवस्था गरेको छैन । “ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्छौं, दशैँ–तिहार आउँदा झनै समस्या हुन्छ, केटाकेटीलाई नयाँ लुगा दिन सकिँदैन,” उनले गुनासो पोखे ।

    टोपबहादुर सिंजालीको कथा पनि उस्तै छ । बाढीले घरजग्गा बगाएपछि उनले परिवारसहित सडकछेउमा जीवन काट्न थालेको एक दशक भयो । “जमरा राख्ने ठाउँसम्म छैन, पालभित्र कहाँ खाना पकाउने, कहाँ सुत्ने भन्ने समस्या हुन्छ,” उनले भने ।

    बाढीपीडितहरूले अझै पनि स्वास्थ्य, शिक्षा, खानेपानी र बिजुली जस्ता आधारभूत सेवासुविधा पाएका छैनन् । पालमुनी बस्दै आएकी हरिकला विक भन्छिन्, “चाडपर्व आउँदा झनै पीडा हुन्छ, बिहान बेलुकीको छाक जुटाउनै गाह्रो पर्छ ।”

    देशभर दशैँको रमाइलो छाइरहेको बेला गिरीघाटका यी बाढीपीडित भने विस्थापन र बेवास्ताको पीडासँगै दशैँलाई स्वागत गर्न बाध्य छन् । उनीहरूको एक मात्र चाहना छ— राज्यले शीघ्र स्थायी पुनर्स्थापनाको व्यवस्था गरोस्, ताकि उनीहरू पनि दशैँलाई उमङ्गका साथ मनाउन सकून् ।

  • १२ आश्विन २०८२, आईतवार १०:२६ प्रकाशित

  • Nabintech