१३, असोज २०८२
बाँके । विश्व रेबीज दिवस (सेप्टेम्बर २८) को अवसरमा आज न्यु लाईफ भेट क्लिनिक एण्ड पेट सपले कोहलपुर नगरपालिकाको पशु सेवा शाखासँग सहकार्य गर्दै सडक कुकुरमा रेबीज खोप कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम अन्तर्गत ५० भन्दा बढी सडक कुकुरलाई निःशुल्क खोप लगाइएको आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रममा पशु सेवा शाखाका प्रतिनिधि गोविन्द रोकायाले रेबीज रोगको गम्भीरताबारे प्रस्ट पार्दै भने, “रेबीज एक घातक रोग हो तर यसलाई खोपमार्फत पूर्णरूपमा नियन्त्रण गर्न सकिन्छ । हामीले आज गरेको यो पहलले समुदायलाई सुरक्षित बनाउन मद्दत गर्नेछ । सबैलाई आफ्ना पाल्तु कुकुर र बिरालालाई नियमित खोप लगाउन आग्रह गर्दछु ।”
न्यु लाईफ भेट क्लिनिक एण्ड पेट सपका सञ्चालक डा. मनोज कार्कीले सडक कुकुरलाई खोप लगाउनु सामाजिक जिम्मेवारी भएको उल्लेख गर्दै सानो प्रयासले पनि कोहलपुरलाई रेबीजमुक्त बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।
आयोजकहरूले यो कार्यक्रमले कोहलपुर क्षेत्रका सडक कुकुर तथा स्थानीय समुदायलाई रेबीज संक्रमणको जोखिमबाट जोगाउने उद्देश्य राखिएको बताएका छन् ।
कार्यक्रममा तिलक आचार्य, प्रकाश न्यौपाने, लोकेन्द्र बुढाथोकी, मिनबहादुर बिक, आकाश काफ्ले, कोहलपुर नगरपालिकाबाट कमल बुढा, बास्कडी बर्दियाका सुशान्त सापकोटा, करिना चलाउने, ईसा सुनार लगायतको सक्रिय सहभागिता रहेको थियो ।