जुम्लामा परम्परागत घोडादौड प्रतियोगिता : संस्कृति संरक्षण र घोडा प्रवर्द्धनको अभियान

  • नमस्ते कर्णाली

  • १४, असोज २०८२

    जुम्ला ।जुम्लाको चन्दननाथ नगरपालिका–५ अवस्थित राजासिम मैदानमा यस वर्ष पनि परम्परागत जुम्ली घोडादौड प्रतियोगिता सम्पन्न भएको छ। दसैंको फूलपातीको दिन पारेर आयोजना गरिने यो प्रतियोगिता जुम्ली संस्कृतिको संरक्षण, घोडापालनको प्रवर्द्धन र स्थानीय कृषकलाई उत्साहित गर्ने उद्देश्यले गरिएको हो।

    पछिल्ला वर्षहरूमा कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै घोडाको प्रयोग घट्दै गएको भन्दै किसानहरूले यसको संरक्षणमा जोड दिइरहेका छन्। घोडापालक जयकृष्ण धरलाले भने, “अब हरेक घरमा घोडापालन गर्ने प्रावधान ल्याउन जरुरी छ, यसले जुम्ली घोडाको अस्तित्व जोगाउन मद्दत गर्नेछ।”

    प्रतियोगितामा चन्दननाथ, पातारासी, सिंजा र गुठिचौर गाउँपालिकाबाट ल्याइएका १९ घोडाले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिता तीन विधामा—खुला दौड, चाल/कदम र पालित—मार्फत सम्पन्न भयो।

    खुला दौडतर्फ

    • प्रथम: कालीप्रसाद न्यौपानेको घोडा (पुरस्कार १५ हजार रुपैयाँ)
    • द्वितीय: रविन्द्र बाहेराको घोडा (१० हजार रुपैयाँ)
    • तृतीय: लोकप्रसाद न्यौपानेको घोडा (५ हजार रुपैयाँ)

    चाल/कदमतर्फ

    • प्रथम: राजेन्द्र रोकायाको घोडा (५ हजार रुपैयाँ)
    • द्वितीय: हर्क बहादुर शाहीको घोडा (३ हजार रुपैयाँ)
    • तृतीय: गणेश शाहीको घोडा (२ हजार रुपैयाँ)

    पालिततर्फ

    • प्रथम: अमृत बुढा (५ हजार रुपैयाँ)
    • द्वितीय: राजकुमार बुढा (३ हजार रुपैयाँ)
    • तृतीय: अंगराज बुढा र रामकुमार बुढा (१ हजार ५ सय रुपैयाँ)

    यसैगरी गुठिचौर गाउँपालिकामा पनि घोडादौड प्रतियोगिता सम्पन्न भयो। गुठिचौर युवा क्लब र गाउँपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा ४१ घोडाले प्रतिस्पर्धा गरेका थिए। यहाँको दौडतर्फ वडा–२ का शंकर रोकायाको घोडा प्रथम, वडा–१ का सुरेन्द्र थापाको घोडा द्वितीय र वडा–२ कै अस्टमन बोहोरा तृतीय भए। विजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे। साथै तीन महिला घोडादौड प्रतिस्पर्धीलाई विशेष सम्मान गरिएको थियो।

    घोडादौड हेर्नका लागि गाउँ–गाउँबाट हजारौँ दर्शक राजासिम मैदान र गुठिचौर पुगेका थिए। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवी खड्का लगायत स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको उपस्थिति उल्लेख्य थियो।

    चन्दननाथ नगरपालिकाका मेयर कठायतले बताएअनुसार, “२०५५/०५६ सालसम्म जुम्ला विमानस्थलमा घोडादौड हुने गर्थ्यो। तर धावनमार्ग पक्की भएपछि प्रतियोगिता रोकिएको थियो। अहिले फेरि स्थानीय उत्साहका साथ निरन्तरता दिइनु सकारात्मक छ।”

    जुम्ली घोडा विगतमा कर्णाली क्षेत्रका सरकारी कार्यालय र दैनिक आवागमनको मुख्य साधन थियो। सडक सञ्जाल विस्तारसँगै यसको महत्व घटे पनि परम्परागत घोडादौडले यो जातको संरक्षण र प्रचार–प्रसारमा टेवा पुगेको छ। विशेष गरी दशैंका अवसरमा हुने प्रतियोगिता स्थानीयलाई मात्र होइन, बाहिरी पर्यटकलाई पनि आकर्षित गर्न थालेको छ।

    यसरी, जुम्ली घोडादौड केवल मनोरञ्जन मात्र नभई संस्कृति, इतिहास र पहिचान जोगाउने माध्यम बनेको छ।

  • १४ आश्विन २०८२, मंगलवार ०८:५१ प्रकाशित

  • Nabintech