दशै –तिहारमै सहुलियत खाद्यान्नबाट बञ्चित हुम्लाका तीन गाउँपालिका

  • नमस्ते कर्णाली

  • १५, असोज २०८२

    हुम्ला ।दशैं–तिहार र छठ पर्वको अवसर पारेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशभर सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण थाले पनि हुम्लाका तीन गाउँपालिकाका नागरिक भने यस वर्ष पनि उक्त सुविधा पाउनबाट वञ्चित भएका छन्।

    लिमिटेडले सहुलियत मूल्यको खाद्यान्न शाखा र डिपोमार्फत मात्र बिक्री गर्ने परिपत्र गरेपछि खार्पुनाथ, चङ्खेली र ताजाकोट गाउँपालिकाका नागरिक यस सुविधाबाट टाढा रहेका हुन्। केन्द्रले ती तीन गाउँपालिकाका बिक्री केन्द्रका लागि आवश्यक कोटा नतोक्दा उपभोक्ताले दशैं–तिहार र छठ पर्वजस्तो ठूलो चाडमा पनि सहुलियत मूल्यमा चामल, तेल र चिनी किन्न नपाएको गुनासो गरेका छन्।

    यसबेला हुम्लामा सहुलियत दरमा प्रतिकेजी पाँचदेखि सात रुपैयाँ छुटसहित चामल, तेल र चिनी बिक्री भइरहेको छ। तर, लाभ लिन पाएका उपभोक्ता केवल जिल्लास्थित लिमिटेडको एउटा शाखा, दुईवटा डिपो र पाँचवटा बिक्री केन्द्र नजिक बस्नेहरु मात्र भएका छन्।

    दुरदराजका गाउँपालिकामा बसोबास गर्ने नागरिक भने यसपटक पनि दशैं–तिहारमा महँगाे भाउ तिरेर खाद्यान्न खरिद गर्न बाध्य भएका छन्। स्थानीयवासीले विकट क्षेत्रमा सहुलियत मूल्यको खाद्यान्न वितरण सुनिश्चित गर्न सरकारले आवश्यक कोटा तोक्नुपर्ने माग गरेका छन्।

  • १५ आश्विन २०८२, बुधबार १४:४२ प्रकाशित

  • Nabintech