बैजनाथ बालसुधार गृह घटनाः ७८ मध्ये ३२ बालबन्दी पक्राउ, ४६ अझै फरार

  • नमस्ते कर्णाली

  • २०, असोज २०८२

    बाँके। गत भदौ २४ गते राति ‘जेनजी आन्दोलन’का क्रममा बाँकेको बैजनाथस्थित नौवस्ता बालसुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ भने ४६ जना अझै फरार रहेका छन्।

    ‘जेनजी आन्दोलन’को दोस्रो दिन राति प्रहरीसँगको भिडन्तपछि ती बालबन्दीहरू सुधार गृहको पर्खाल नाघी फरार भएका थिए। सो क्रममा प्रहरीको गोली लागेर अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय बिनेश घर्ती मगर, बाँकेका २० वर्षीय समिर थापा, दैलेखका २१ वर्षीय भुपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवाको मृत्यु भएको थियो। घटनामा घाइते दुई जनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।

    नौवस्ता बालसुधार गृहका प्रमुख श्यामबहादुर रानाका अनुसार हालसम्म २९ जनालाई पुनः सुधार गृहमा ल्याइएको छ भने चितवनमा पक्राउ परेका तीन जनालाई ल्याउने तयारी भइरहेको छ। बाँकी ४६ जना अझै सम्पर्कविहीन रहेको र तिनीहरूको खोजी तीव्र रूपमा भइरहेको उहाँले बताउनुभयो।

    रानाका अनुसार फरार बालबन्दीहरूको खोजीका लागि नेपाल–भारतका सीमावर्ती नाकाहरूमा निगरानी कडा पारिएको छ र पहाडी जिल्लासम्म प्रहरी सञ्जाल विस्तार गरिएको छ। उहाँले भन्नुभयो, “दसैंको समयमा उनीहरू घरतिर जाने सम्भावना रहेकाले ठेगानाका आधारमा पनि प्रहरी परिचालन गरिएको छ।”

    जिल्ला प्रहरी कार्यालय बाँकेले समेत फरार बालबन्दीहरूको खोजीका लागि थप प्रहरी टोली खटाइएको जनाएको छ।

    यसअघि बालसुधार गृह र कारागार प्रशासनले फरार भएका सबै बालबन्दी र कैदीबन्दीहरूलाई असोज २० गतेभित्र फर्किन चेतावनी दिँदै समयसीमा निर्धारण गरेको थियो। तर समयसीमा सकिन लाग्दा पनि उनीहरू फर्किएका छैनन्। फर्किन अस्वीकार गर्नेहरूमाथि कारागार ऐनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

    उक्त घटना ‘जेनजी आन्दोलन’कै दोस्रो दिन, नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भागेको समाचार सार्वजनिक भएपछि सुरु भएको थियो। लामिछानेको घटनापछि “हामीलाई पनि छोड्नुपर्छ” भन्दै नौवस्ताका बालबन्दीहरूले आन्दोलन चर्काएपछि सुधार गृहको सुरक्षाघेरा तोड्दै ७८ जना भागेका थिए। सुरक्षाकर्मीले तत्काल केहीलाई नियन्त्रणमा लिन सफल भए पनि पाँच जनाको मृत्यु र ४६ जना अझै बेपत्ता रहेको पुष्टि गरिएको छ।

     

  • २० आश्विन २०८२, सोमबार ०८:५८ प्रकाशित

  • Nabintech