दसैं मनाउन दुई लाखभन्दा बढी नेपाली जमुनाह नाकाबाट स्वदेश फर्किए

  • नमस्ते कर्णाली

  • २०,असोज २०८२
    बाँके ।हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादसैं मनाउनका लागि यस वर्ष दुई लाखभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किएका छन्। बाँकेको जमुनाह नाका हुँदै असोज १ गतेदेखि १६ गतेसम्म करिब २ लाख नेपालीले देश प्रवेश गरेको इलाका प्रहरी कार्यालय जमुनाहले जानकारी दिएको छ।

    इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीका अनुसार सो अवधिमा करिब एक लाख मानिस नेपालबाट भारततर्फ गएका पनि छन्। प्रहरीका अनुसार यस वर्ष दशैंमा भारतबाट फर्किनेको संख्या अघिल्ला वर्षभन्दा केही बढी देखिएको छ।

    प्रहरीले पर्वलक्षित यात्रु सहायता कक्ष स्थापना गरेर यात्रुहरूको आवागमन सहज बनाएको जनाएको छ। नाकामा अत्यधिक भीड बढेसँगै यात्रु ठगिने, गलत जानकारीका कारण अन्योलमा पर्नेजस्ता समस्या बढेपछि प्रहरीको पहलमा ‘सुरक्षा हेल्प डेस्क’ स्थापना गरिएको हो। उक्त डेस्कमार्फत यात्रुलाई आवश्यक सहयोग, सूचना तथा सवारी व्यवस्थापनको समन्वय गरिएको छ।

    होटेल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलका अनुसार भारतबाट फर्किने नेपालीहरूलाई होटेल, रिक्सा, अटो र निजी गाडीचालकहरूले ठग्ने घटना बढेपछि प्रहरीको सहयोगमा निगरानी प्रणाली सशक्त पारिएको छ। “विदेशमा रहेका नेपाली सुरक्षित हुने तर आफ्नै देश फर्किएपछि ठगिनु अत्यन्त गलत कुरा हो,” उहाँले भन्नुभयो।

    रोजगारीका सिलसिलामा भारतको टिहरी गढवाल पुगेका दैलेख नौमुलेका दीपक थापाले दशैं मनाउन स्वदेश फर्किँदा नाकामै नेपालीबाट ठगिनुपरेको अनुभव सुनाउनुभयो। उहाँले भन्नुभयो, “अर्काको देशमा गएर पसिना बगाउँछौं, तर आफ्नै मुलुक फर्किंदा पीडित बन्नु तितो अनुभव हो।” थापाले अब देशमै रोजगारी सिर्जना गर्न राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

    सीमा नाकामा हुने भीड र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीको सक्रियता तथा स्थानीय सरोकारवालाको सहकार्यले यस वर्ष ठगी नियन्त्रणमा सहयोग पुर्‍याएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

  • २० आश्विन २०८२, सोमबार ०९:०१ प्रकाशित

  • Nabintech