हुम्ला।पर्यटकीय क्षेत्रसमेत रहेका हिमालपारिको गाउँ लिमी उपत्यकामा बाह्य पर्यटक प्रवेश थालेका छन्। हरेक वर्ष अक्टोरमा लिमी उपत्यकामा बाह्य पर्यटक हिँडेर जाने गर्दै आएकोमा यस वर्ष पनि सोही क्रम सुरु भएको हो।
लिमी प्रवेशका लागि पर्यटक आफ्नो समूहमा सिमकोटबाट हिँड्दै जाने क्रम यस वर्षका लागि सुरु भएको नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए।
यस वर्ष नौ सदस्यीय पहिलो बाह्य पर्यटकको टोली लिमी प्रवेश गरेको उनले बताए। लिमीका तीन गाउँ जाङ, हल्जी र तीलमा एक एक क्याम्प बनाएर पर्यटक बस्ने र गाउँमा प्रबेश गरी गाउँको साँस्कृतिक, धार्मिक, सामाजिक, ऐतिहासिक पक्षबारे पनि जानकारी लिने गर्छन्।
पर्यटकले पर्यटकीय क्षेत्र, जंगली जनावर, पन्छी, झरना, ताललगायत अवलोकन गर्छन्। त्यससँगै पाँच हजार मिटर अग्लो न्यालु पासबाट लिमी उपत्यकामा पर्यटक प्रवेश गर्छन्। यो पहिलो टोली भएको र यस वर्ष अरु टोली पनि लिमी उपत्यका घुम्न आउने उनले विश्वास व्यक्त गरे।
टोलीले सिमकोटबाट सल्ली, न्यालु, ताक्ची, लिमी हुँदै हिल्साबाट सिमकोट फिर्ता हुने गर्छन्। बाह्य पर्यटकको टोली लिमी थालेको र अहिले लिमीसम्म सडक निर्माण भएर यातायातका साधन सञ्चालनमा आए पनि हिँडेरै लिमी पुग्ने गर्छन्।