हुम्ला । मौसम सफा भएपछि हुम्लाका किसानलाई पाकेको अन्न बाली भित्र्याउन सहज हुने भएको छ। चैत, वैशाखामा छरेको बाली पाकेपछि किसानलाई दसैँ लागेयतादेखि नै भित्र्याउने चटारो भएको सिमकोट गाउँपालिका–६ की बदुमा रावतले जानकारी दिइन्।
उनले भनिन्, ‘बडादसैँ ठूलो चाड भए पनि बाली पाकिसकेकाले हामी किसानलाई भित्र्याउने चटारो हुन्छ।’ चाड मनाउने र बाली थन्क्याउने काम सँससँगै गर्नुपरेको उनले बताइन्। चिनो, कागुनो, तिते फापर, मिठे फापर, कोदो, सिमी, भटमास, आलुलगायत बाली थन्क्याउने कामको चटारो किसानलाई छ। समयमा बाली नभित्र्याउँदा पशुबस्तु पनि छोडिने भएकाले समयमै बाली भित्र्याउनुपरेको खार्पुनाथ गाउँपालिका– ५ का परेख शााहीले बताए।
सर्केगार्ड गाउँपालिकाका अग्ला स्थानमा बाली पाकिसकेकाले कामको चाप बढी हुने गर्छ। यतिबेला हुम्लाका तीन वटा गाउँपालिका मात्र नभई अन्य नाम्खा, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका किसानलाई पाकेको बाली थन्क्याउन र भित्र्याउने चटारो एकै साथ सुरु भएको छ।