२२, असोज २०८२
बाँके ।अपांगता भएका बालबालिकालाई नयाँ जीवन दिने कार्यमा सक्रिय अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले कोहलपुरमा सामाजिक लेखा परीक्षण सम्पन्न गरेको छ। “अपांगता कुनै दुर्भाग्य होइन, उपचार र अवसर पाएपछि जीवनको नयाँ अध्याय लेख्न सकिन्छ” भन्ने सन्देशका साथ केन्द्रले बालबालिकाको जीवनमा नयाँ उज्यालो ल्याउँदै सामाजिक जवाफदेहिताको अभ्यासस्वरूप यो कार्यक्रम आयोजना गरेको हो।
मंगलबार सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सेवाग्राहीलाई एकैस्थानमा राखी केन्द्रले आफ्नो वार्षिक काम, उपलब्धि र सेवाको विस्तृत विवरण सार्वजनिक गर्यो।
लुम्बिनी प्रदेश इन्चार्ज लेखनाथ आचार्यले भन्नुभयो “केन्द्रले अपांगता भएका बालबालिकाको शारीरिक मात्र होइन, मानसिक पुनःस्थापनामा पनि जोड दिएको छ। उनीहरूलाई आत्मनिर्भर र सशक्त बनाउने हाम्रो मुख्य उद्देश्य हो।”
कोहलपुर नगरपालिका–१५ अकलघरुवामा रहेको अस्पतालले महिनामा सरदर ११० जना बालबालिकालाई उपचार तथा पुनःस्थापना सेवा प्रदान गर्दै आएको छ। शल्यक्रिया, फिजियोथेरापी र सहायक सामग्री वितरणमार्फत अस्पतालले ‘कष्टकर जीवन’ बाट मुक्त गराउँदै आएको आचार्यले बताउनुभयो। उहाँका अनुसार, “हामी न्यून शुल्कमा सेवा दिइरहेका छौं। आर्थिक रूपमा कमजोर बालबालिकालाई यातायात खर्चसमेत दिएर घरसम्म पुर्याउने गर्छौं।”
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रकाश यादवले भन्नुभयो, “यो केन्द्रले हजारौं बालबालिकालाई नयाँ जीवन दिएको छ। उपचार मात्र होइन, पहिचानदेखि पुनःस्थापन र सामाजिक एकीकरणसम्म हाम्रो साथ रहन्छ। गाउँगाउँमा शिविर राखी वर्षमा २० देखि २५ हजार बालबालिकालाई सेवा दिइन्छ।”
मुख्य केन्द्र बनेपा, काठमाडौंमा रहे पनि प्रदेशस्तरीय अस्पतालहरू कोशी र लुम्बिनीमा सञ्चालनमा छन्। यादवका अनुसार, “अब जटिल शल्यक्रिया बाहेक अन्य सबै उपचार प्रदेशस्तरीय अस्पतालमै सम्भव भएको छ।”
जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले अपांग बाल अस्पतालको कार्यप्रति सन्तोष व्यक्त गर्दै भने, “पहिले हिँड्न नसक्ने बालबालिकालाई आज हिँड्न, खेल्न र पढ्न सक्ने अवस्थामा पुर्याएको देख्दा हर्ष लागेको छ। अस्पतालको समर्पित टोलीले हजारौं जीवनमा उज्यालो ल्याएको छ।”
कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्यले भन्नुभयो “यो केन्द्रले बालबालिकालाई उपचार मात्र होइन, आत्मविश्वास र समाजमा पुनःपहिचान दिने अवसर पनि प्रदान गरेको छ। यस्तो सकारात्मक कार्यबारे सबै नागरिकलाई जानकारी गराउन पालिकाले सचेतना फैलाउनुपर्छ।”
राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा थारु र बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायले पनि आफ्ना पालिकामा रहेका अपांगता भएका बालबालिकाको उपचारका लागि केन्द्रसँग निरन्तर समन्वय गर्दै आएको बताउनुभएको छ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख सीता कार्की, कोहलपुर नगर उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरूको उपस्थिति थियो। कन्सल्टेन्ट निर्मल भण्डारीले सहजीकरण गरेकाे कार्यक्रममा सहभागीहरूले अपांग बाल अस्पतालको प्रयासलाई ‘जीवनमा आशा जगाउने उदाहरणीय संस्था’का रूपमा प्रशंसा गरे।
अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले विगतका वर्षहरूमा हजारौं बालबालिकाको जीवनमा परिवर्तन ल्याउँदै समाजमा ‘अपांगता दुर्भाग्य होइन, अवसर हो’ भन्ने सन्देश फैलाइरहेको छ।