२४, असोज २०८२
नेपालगञ्ज: ‘आँखालाई माया गरौँ’ भन्ने नारासहित बिहीबार नेपालगञ्जमा विश्व दृष्टि दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल दृष्टि विशेषज्ञ संघ लुम्बिनी प्रदेशले कार्यक्रम आयोजना गरेको हो ।
नेपालगञ्जस्थित सुनाखरी रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा सहभागीहरुले आँखाको स्वास्थ्य र दृष्टि संरक्षणमा जनस्तरमा चेतना फैलाउन आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.प्रचण्ड गौतमले दृष्टि जोगाउन प्रत्येक व्यक्तिले नियमित रूपमा आँखा परीक्षण गराउनुपर्ने बताए । उनले भने, “दृष्टि गुमेपछि उपचार कठिन हुन्छ, त्यसैले समयमा नै आँखा जाँच गराउनु अत्यावश्यक छ । जनचेतना नै दृष्टि संरक्षणको पहिलो र प्रभावकारी उपाय हो।”
डा.गौतमले आँखा उपचारका सवालमा जनचेतना फैलाउन सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै जनस्तरमा दृष्टि र आँखाको स्वास्थ्यबारे सचेतना फैलाउन सबै क्षेत्रका व्यक्तिहरू सक्रिय हुनुपर्नेमा जोड दिए ।
त्यस्तै, फत्तेवाल आँखा अस्पतालमा कार्यरत नेत्र अधिकृत निशा गौतमले आँखाको संवेदनशीलता र नियमित जाँचको आवश्यकता बारे जानकारी दिइन् । उनले भनिन्, “आँखा शरीरको अत्यन्त संवेदनशील अंग हो । सामान्य लापरवाहीले पनि दृष्टि गुम्ने जोखिम रहन्छ, त्यसैले नियमित आँखाको जाँच अत्यावश्यक छ।” कार्यक्रममा नेपाल दृष्टि विशेषज्ञ संघ, लुम्बिनी प्रदेशका कोषाध्यक्ष तथा वरिष्ठ दृष्टि विशेषज्ञ सरोज गौतमले दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सबैले आफ्नै ठाउँबाट सक्दो जनचेतना फैलाउन आग्रह गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरुले अझै पनि सर्वसाधारणमा आँखाको स्वास्थ्यप्रति पर्याप्त सचेतना नहुँदा दृष्टि समस्या बढ्दै गएको उल्लेख गर्दै विद्यालयदेखि समुदायस्तरमा सचेतना विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।
संघका सहसचिव तथा वरिष्ठ दृष्टि विशेषज्ञ तिलक कुमार साहले सञ्चालन गरेको कार्यक्रममा बाँकेका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, नेत्र विशेषज्ञ र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
विश्वभर करोडौं मानिस दृष्टि या दृष्टिजन्य समस्याबाट प्रभावित छन् । आँखाको स्वास्थ्य संरक्षण र रोकथाम गर्न सकिने अन्धोपन घटाउनु आजको विश्वको साझा चुनौती