२७, असोज २०८२
सुर्खेत ।लोपोन्मुख जाति राउटे समुदायमाथि बाह्य व्यक्तिबाटको आक्रमण अझै रोकिएको छैन। शुक्रबार (असोज २४) राति मदिरा सेवन गरेर राउटे बस्तीमा पसेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार बिहान पक्राउ परेका ती युवकले संकास्पद गतिविधि देखाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार पक्राउ परेका लेकवेशी नगरपालिका निवासी ती व्यक्तिमाथि जबरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनले भने, “राउटे बस्तीमा अनधिकृतरूपमा प्रवेश गर्नेहरूको विरुद्धमा कडा कारबाही सुरु गरिएको छ।”
पछिल्लो समय बाह्य व्यक्तिहरूको अनधिकृत प्रवेशका कारण राउटे समुदाय असुरक्षित बन्दै गएको छ। आफुलाई जंगलको ‘राजा’ भनेर चिनाउने राउटेहरूको बस्तीमा रातको समयमा बाहिरका मानिसहरू मदिरा सेवन गरेर प्रवेश गर्ने क्रम बढ्दा विशेषगरी महिला र बालबालिका बढी जोखिममा परेका छन्।
राउटे युवा दीपक शाही भन्छन्, “राति बाहिरका मान्छे रक्सी पिएर बस्तीमा आउँछन्, हल्ला गर्छन्, डर लाग्छ। हामीलाई शान्ति र सुरक्षा चाहिएको छ।” उनले दिउँसो आवश्यक कामका लागि बस्तीमा आउन समस्या नभएको तर राति मदिरा सेवन गरेर प्रवेश नगर्न आग्रह गरे।
राउटे समुदायसँग नजिकिएर काम गर्दै आएका सोसेक नेपालका जोडि शिक्षक लालबहादुर खत्रीले पनि बस्तीमा सुरक्षा चुनौती बढ्दै गएको बताए। “बाहिरका मानिसहरू भिडियो खिच्ने, मदिरा सेवन गरी अनधिकृत प्रवेश गर्ने जस्ता घटनाले समस्या बढाएको छ। अब बस्ती वरिपरि प्रहरीको स्थायी पहरा आवश्यक छ,” उनले भने।
उनका अनुसार हाल राउटे समुदाय लेकवेशी नगरपालिका–८ मा बसोबास गरिरहेको छ र उनीहरू चाँडै अर्को स्थानमा बसाइँ सर्ने तयारीमा छन्। शुक्रबार सरकारले वितरण गरेको सामाजिक सुरक्षा भत्ता प्राप्त गरेसँगै उनीहरूले नयाँ ठाउँतिर सर्ने तयारी गरेको खत्रीले जानकारी दिए।
संरक्षणमा राज्यको बेवास्ता
कर्णाली प्रदेश सरकारले राउटेहरूको संरक्षणमा पर्याप्त ध्यान नदिँदा यो समुदाय अस्तित्व संकटमा पुगेको सरोकारवालाहरूको भनाइ छ। संघीय सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाहेक अन्य कुनै ठोस संरक्षण कार्यक्रम नहुँदा राउटेहरू अझै परनिर्भर र असुरक्षित जीवन बिताइरहेका छन्।
नेपालका एकमात्र घुमन्ते आदिवासी जनजाति राउटेले परम्परागत जीवनशैली, भाषा र संस्कृति जोगाइराखेका छन्। तर, आधुनिकताको प्रभाव, मदिरा र सूर्तिजन्य पदार्थ सेवन, र बाह्य व्यक्तिहरूको हस्तक्षेपका कारण उनीहरूको परम्परा र स्वास्थ्य दुवै जोखिममा परेका छन्।
नेपाल मानवअधिकार आयोगको अध्ययनले राउटे पुरुष र महिलामा अत्यधिक मदिरा सेवनको लत रहेको देखाएको छ। महिलाहरू चुरोट पिउने र पुरुषहरू सुर्ती खाने बानीमा छन्। कहिल्यै पैसा नछोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटेहरू आजभोलि नयाँ मान्छे देखेपछि पैसा माग्ने र त्यही पैसाले मदिरा किन्ने प्रवृत्तिमा लागेका छन्।
राउटेहरूको जीविकोपार्जन अझै पनि परम्परागत नै छ—काठका भाँडाकुँडा, सन्दुक, पिर्का बनाएर नजिकका गाउँमा पुर्याउने र अन्नसँग साट्ने। उनीहरू कृषि, पशुपालन वा स्थायी रोजगारीमा संलग्न छैनन्। तीन थर—कल्याल, सोवंशी र रास्कोटी—का राउटेहरूको हालको संख्या जम्मा एक सय ३७ रहेको अनुमान छ।
राउटे समुदायको अस्तित्व र सुरक्षाको सवाल अहिले केवल सामाजिक मुद्दा होइन, राज्यको जिम्मेवारीको विषय पनि बनेको छ। बस्तीमा निरन्तर सुरक्षा व्यवस्थापन, मदिरा नियन्त्रण र सशक्तिकरण कार्यक्रम नभएसम्म ‘जंगलका राजा’ कहलिने यो समुदायको अस्तित्व संकट झन् गहिरिँदै जाने संकेत देखिँदैछ।