नेपालगञ्जमा भन्सार छलि गरिएका लत्ताकपडा बरामद, ९४ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा

  • नमस्ते कर्णाली

  • २९, असोज २०८२
    बाँके। नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारी टोलमा प्रहरीले अबैध रूपमा भन्सार छलि गरी ल्याइएका विभिन्न लत्ताकपडाहरू बरामद गरेको छ।

    वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा इन्चार्ज अरुण बमका अनुसार प्रहरीले सो स्थानमा छापा मार्दा कुर्ता–सुरुवाल ३४ थान, धोति १२ थान र वच्चाले लगाउने अन्डर ट्राउजर ३३६ पिस फेला पारेको हो। बरामद गरिएका ती सबै कपडाहरूको अनुमानित मूल्य करिब ९४ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

    फेला परेका सबै कपडाहरू आवश्यक कानूनी प्रक्रिया पूरा गर्नका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको इन्चार्ज बमले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले प्रहरीले भन्सार छलि गरी ल्याइने अबैध सामानहरूको रोकथामका लागि नेपालगञ्जका सीमाक्षेत्रहरूमा निगरानी र चेकजाँच अझ कडा पारेको छ।

    हालैका दिनमा भारतसँगको खुला सिमानाको कारण लत्ताकपडा, सिगरेट, सुपारीलगायतका वस्तुहरू भन्सार छलि गरी ल्याउने क्रम बढेको देखिएको छ। प्रहरीका अनुसार यस्ता गतिविधिलाई नियन्त्रण गर्न सादा पोसाकका प्रहरीमार्फत पनि विशेष अनुगमन सुरु गरिएको छ।

    प्रहरीले स्थानीय बासिन्दालाई पनि भन्सार छलि हुने गतिविधि देखे वा थाहा पाए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ। उहाँले भन्नुभयो, “सहयोग बिना नियन्त्रण सम्भव हुँदैन, त्यसैले स्थानीयको सहकार्यले मात्रै यस्ता अबैध क्रियाकलापहरूलाई रोक्न सकिन्छ।”

    प्रहरीले यस्ता कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

  • २९ आश्विन २०८२, बुधबार १३:१३ प्रकाशित

  • Nabintech