बाँकेका किसान आधुनिकतर्फ उन्मुख — थ्रेसर मेसिनले बदल्दै धान दाउने शैली

  • नमस्ते कर्णाली

  • बाँके,२९असोज ।
    बाँकेका किसानहरूमा पछिल्ला वर्षहरूमा थ्रेसर मेसिनको प्रयोग तीव्र रूपमा बढिरहेको छ। परम्परागत रूपमा हातले वा हलगोरु प्रयोग गरेर गरिँदै आएको धान दाउने काम अहिले आधुनिक मेसिनबाट सहज र छिटो रूपमा सम्पन्न हुन थालेको छ। जनशक्तिको अभाव र मजदुरको बढी खर्चले थकित भएका किसानका लागि थ्रेसर मेसिनले राहतको विकल्प बनेको छ।

    धान पाक्ने समयसँगै अहिले बाँकेका अधिकांश गाउँमा थ्रेसर मेसिनको घरघरमै आवाज सुनिन थालेको छ। खेतमा धान काट्नका लागि मेशिनरी औजार प्रयोग भएपछि किसानहरूका लागि काम अझ सजिलो बनेको छ। थ्रेसर मेसिनको प्रयोगले काम गर्ने मजदुरको अभावको समस्या पनि धेरै हदसम्म समाधान भएको छ।

    कोहलपुर–७ रजगढवाका किसान रामचरण थारु भन्छन्, “गाउँमा काम गर्ने मान्छे पाउन गाह्रो छ, र पाइएका खेतालाको खर्च पनि धेरै बढेको छ। अहिले थ्रेसर मेसिनको प्रयोग गर्दा समय र पैसा दुबै बचत हुन्छ। यसले हाम्रो श्रमको भार घटाएको छ, त्यसैले अहिले हामी थ्रेसरमै निर्भर भएका छौँ।”

    त्यस्तै, कोहलपुर–१३ भरैयाका कृषक जयलाल घर्ति पनि आधुनिक प्रविधिप्रति उत्साहित देखिनुहुन्छ उहाँले भन्नुभयो, “पहिले हलगोरु र मजदुरको भर पर्नु पर्थ्यो, अहिले त्यो अभावलाई थ्रेसर मेसिनले समाधान गरिदिएको छ। यो सानो, चलाउन सजिलो र कुनै पनि ठाउँमा लैजान मिल्ने भएकाले धेरै उपयोगी भएको छ।”

    थ्रेसर मेसिनका सञ्चालक चक्रबहादुर भण्डारीका अनुसार, बाँकेमा हाल मेसिन भाडामा लिएर काम गर्ने किसानहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। उहाँले भन्नुभयो, “यो मेसिनले समय र पैसाको बचत गर्छ। हामी १ क्विन्टल धान दाउँदा १० किलो धान सेवा शुल्कका रूपमा लिन्छौँ। यसरी हेर्दा किसानलाई नगद तिर्नु पर्दैन, बरु बालीकै अंश दिएर काम पूरा गर्न सकिन्छ, जुन सबैका लागि सहज हुन्छ।”

    थ्रेसर मेसिनले उत्पादनमा वृद्धि र श्रम खर्चमा कटौती ल्याएको किसानहरूले अनुभव गरिरहेका छन्। यसले धान दाउने काममा महिलाको श्रमभार पनि घटाएको छ। पहिले घामपानीमा खेतमै घण्टौँसम्म काम गर्नुपर्ने बाध्यता अहिले केही मिनेटमै समाप्त हुने गरेको छ।

    तर, सबैले यसलाई मात्र प्रविधिको चमत्कारका रूपमा नलिएका पनि छन्। कोहलपुरका कृषक तुलबिर खत्री भन्छन्, “आधुनिक प्रविधिले काम सजिलो बनाएको हो, तर हामीले परम्परागत दाइँ संस्कृतिलाई पनि नबिर्सिनु पर्छ। गाउँमा सामूहिक रूपमा दाइँ गर्ने र गाउँलेबीच आपसी सहयोग गर्ने परम्परा बिस्तारै हराउँदै गएको छ।”

    यद्यपि, अधिकांश किसानका लागि थ्रेसर मेसिन अहिलेको आवश्यक प्रविधि बनेको छ। यसले उत्पादन लागत घटाएको छ र समयमै काम सम्पन्न गर्न सहज बनाएको छ। बाँकेका कृषकहरूका अनुसार, आगामी वर्षहरूमा अझ बढी किसानहरू यस प्रविधितर्फ आकर्षित हुने अपेक्षा गरिएको छ।

    आधुनिक थ्रेसर प्रविधिले जहाँ बाँकेका किसानलाई आत्मनिर्भर र समयमै उत्पादन पूरा गर्ने अवसर दिएको छ, त्यहीं यसले ग्रामीण अर्थतन्त्रमा नयाँ गतिशीलता ल्याएको छ। किसानहरूको भनाइमा, “थ्रेसरले खेतमा कामको गति मात्र बढाएको छैन, हाम्रो जीवनशैली नै बदलिदिँदै छ।”

  • २९ आश्विन २०८२, बुधबार १३:१६ प्रकाशित

  • Nabintech